काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार केन्द्रीय समिति बैठकमा बोल्दै आउने चुनावमा माओवादी पहिलो पार्टी बन्ने केहि आधारहरु पेश गरेका थिए । हुन त, यी आधारहरु पर्याप्त नभएपनि उनको यी भनाईले केहि गहिरो अर्थ राख्छ । प्रचण्डले भने झैं माओवादी पहिलो पार्टी बन्ने संभावनातिर डोरिएको केही घटनाक्रमहरुले पुष्टि गर्दछन् ।
यसका थप आधारहरु के के हुन सक्छन् ? त्यो तर्फ विश्लेषण गरौं । ०६४ सालको संबिधानसभा चुनावमा माओवादी केन्द्र सबैभन्दा ठुलो दल बनेको थियो । त्यतिबेला, नेपाली कांग्रेस र एमाले क्रमश: दोस्रो र तेस्रो स्थानमा खुम्चिएका थिए । संबिधान निर्माणका सवालमा पनि माओवादी निर्णायक शक्ति बनेर उदायो । ०७० सालसम्म आईपुग्दा माओवादी केन्द्र पार्टीको आन्तरिक विवादका कारण कमजोर बन्यो । यो अबधीमा पार्टी भित्र सैद्धान्तिक भन्दा व्यक्तिगत महत्वकांक्षाका कारण माओवादीलाई घाटा हुन पुग्यो ।
केहि नेताहरुको बर्हिगमनले माओवादीलाई तत्कालिन रुपमा नोक्सान पुगेपनि दीर्घकालीन दृष्टिकोणले हेर्दा त्यसले तात्विक असर पार्ने थिएन । अहिले माओवादी केन्द्रको नेतृत्व त्यहि ढंगले अघि बढिरहेको छ, जुन ०६४ सालमा नेपालको सबैभन्दा ठुलो दलको रुपमा उदाएको थियो । संगठनमा आएको बदलाव र एमालेसंगको निकटताले माओबादीलाई प्रगतिपथतिर लान सकेको थिएन । चुनावमा हुने गठबन्धनले फाइदा र नोक्सान दुवै हुने गर्छ । माओवादीले पनि त्यहि व्यहोर्र्यो । त्यसपछि माओवादी गठबन्धनतिर लाग्यो ।
जब ०७२ साल असोजमा संबिधान निर्माण भएपछि माओवादीको रफ्तार फेरि शुरु हुन थाल्यो । स्थानीय चुनावमा कांग्रेससंग सहकार्य गर्यो भने प्रतिनिधीसभा र प्रदेशसभाका चुनावमा एमालेलाई साथ लिएर अघि बढ्यो । यी सहकार्यका चुनावमा तिनवटै दलहरुले समान फाइदा लिन सफल भए । चुनावी गठबन्धनले सिट संख्याको जोड घटाउले दलहरुलाई चुनावमा होमिन सहज पैदा गरिदिन्छ ।
तर, पार्टीका संगठनहरुमा एक अर्काका अस्तित्व स्वीकार गर्नुपर्ने बाध्यता हुन्छ । पछि, ०७४ सालको प्रतिनिधीसभा चुनावमा माओवादीलाई एमालेसंग सहकार्य गर्न सहज बनेको थियो । त्यो सहकार्यले यी दुवै पार्टीलाई एकीकरणको मार्गमा डोर्यायो । त्यसपछि, एकिकृत भएको तत्कालिन नेकपा भित्र प्रचण्डको मुख्य भुमिका भएपनि तत्कालिन एमालेको नेतृत्वले पेल्ने बातावरण सृजना गरिदियो । फलस्वरुप अदालती प्रक्रिया र दल भित्रको मतभेदले साविकका एमाले र माओवादीलाई फेरि मैदानमा अलग अलग रुपमा उतारिदियो ।
अहिले एमाले प्रतिपक्षमा छ भने माओवादी केन्द्र सत्ता पक्षमा । सत्तामा हुँदा एमाले नेतृत्वले जनहीत विपरित काम गरेपछि ओली सरकार ढल्न पुगेको यथार्थ हो । एमाले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा झन खराब प्रमाणित हुँदै गएको छ । एकातिर, माओवादी केन्द्रले नेपाली कांग्रेस सहितका दलहरुलाई समेट्न अभिभावकीय भुमिका निर्वाह गर्न थाल्यो । यसले माओवादी केन्द्रलाई राजनीति रुपमा परिपक्व सावित गरिदिएको छ । उता एमालेमा भने केपी शर्मा ओलीको उन्मादका कारण विवाद चर्किंदै गएको छ ।
एमालेको आन्तरिक रमिता अझै मत्थर हुने संकेत छैन । एमालेको आन्तरिक झगडाले तितरवितर बनेका नेपालका कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने आधार खोजेको छ । त्यो भनेको प्रचण्डले तयार पारेको आधार नै हो । प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन् , ‘पार्टीका तत्कालीन अर्का अध्यक्ष केपी ओलीको एकताको उद्देश्य आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्र रहेको कुरा स्पष्ट हुँदै गयो । उनले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’
प्रचण्डको दस्तावेजमा भनिएको छ,‘पार्टीलाई पूरै दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्तिहरु पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनका रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धी संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गर्ने काम (केपी ओलीले) गरे । ओली प्रवृत्तिका रुपमा विकास भएको यो घोर दक्षिणपन्थी र आत्मसमर्पणवादी विचलनका विरुद्ध तत्कालीन नेकपाका अत्यधिक बहुमत सदस्यहरु खडा हुने स्थिति बन्यो । यो परिस्थितिमा ओलीले आत्मालोचित भएर सुध्रिने प्रयास गर्नुको सट्टा झन् निरंकुश र तानाशाही बन्न पुगे ।
अहिलेको सन्दर्भमा अझ स्पष्ट र मजबुत वैचारिक धरातलमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने दायित्वलाई हाम्रो पार्टीले दृढतापूर्वक आत्मसात गर्दछ । प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ । नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन् । मूलत: आफ्नै शक्तिमा भर पर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत स्वामित्वसमेत हाम्रो पार्टीले लिनुपर्दछ ।’
‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजीत गरेको छ । यसलाई नरुचाउने शक्तिहरु गठबन्धनलाई कमजोर पार्न र भत्काउन लागिपरेका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यहीरुपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’ प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको विवरण पनि सार्बजनिक गरे ।
जुन यथार्थमा आधारित छ । माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको प्रचण्डको भनाईले स्पष्ट पार्छ । उनले भनेका छन्, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ ।
माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ ।’ ‘संविधान हामीले चाहेजस्तो नबने पनि यसमा हाम्रो स्वामित्व छ । अब समाजवादको आर्थिक आधार निर्माण गर्नुपर्छ । तीनवटै सरकारले आफ्नो क्षेत्रभित्र समाजवादउन्मुख अर्थ राजनीतिक कार्यक्रम बनाएर लागू गर्नुपर्छ । पार्टीका नेता कार्यकर्ताहरु उत्पादन इकाइमा सहभागी हुनुपर्छ’, दस्तावेजमा भनिएको छ ।
दस्तावेजमा प्रचण्डले भनेका छन्,‘इतिहासमा युगीन कार्यभार पूरा गरेर आएको हाम्रो महान तथा गौरवशाली पार्टीका अगाडि देश र जनताको समृद्धिको सपना र समाजवाद निर्माणको ऐतिहासिक कार्यभार आइपुगेको छ । आफैंलाई रुपान्तरण गर्दै पुनसंगठित र एकतावद्ध हुँदै दृढतापूर्वक समाजवाद निर्माण गर्ने दिशामा अघि बढौं । हजारौं चुनौतीका बावजुद जनताको जीत सुनिश्चित छ ।’ प्रचण्डका यी भनाईले आउने चुनावमा माओवादीलाई पहिलो दल बनाउने आधार तय गरेको संकेत गर्छ ।
यसका थप आधार भनेकै पछिल्लो पटक माओवादी केन्द्रले सुझबुझपुर्ण गरेको राजनीति परिवक्वता हो । सबै दलहरुलाई एक ठाउँमा उभ्याउन सक्नु र संबिधान बिरोधी तत्वलाई परास्त गर्न माओबादीले खेलेको भुमिका प्रमुख रुपमा हुन गएको छ । माओवादीको यहि अभिभावकीय शैली चुनावसम्म जान सक्यो भने फेरि पहिलो दल बन्नेमा शंका गर्ने ठाउँ देखिंदैन । अब माओबादीले यो सरकारलाई जनमुखी बनाएर अघि बढाउन भुमिका खेल्न सक्नुपर्छ । देउवाको नेतृत्वमा सरकार भएपनि माओवादी शक्तिका हिसाबले सत्ताको मुख्य दल हो ।
त्यसैले, सरकारलाई जनताका भावना अनुसार हिंडाएर जान सक्ने अवसर माओवादीलाई छ । यी अवसरहरु नै माओवादीलाई अबका चुनावमा पहिलो स्थानमा पुर्याउने थप बलिया आधारहरु बन्ने सक्नेछन् ।