१९ भदौ, काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुन माधवकुमार नेपालले राजालाई दाम चढाएको भनी टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले पदका लागि जे पनि गर्ने गरेको आरोप लगाए ।
‘सुन्दा पनि बेइज्जत हुने, कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर पाउमा लगेर दाम चढााएर ढोगे । प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छन ’ उनले भने, ‘कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेका थिए ।’
त्यस्तै नेता नेपालले २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेलाई ३३ सिटमा सीमित गरेको र मुख देखाउन नसक्ने स्थिति भयो भनेर राजीनामा गरेको पनि ओलीले टिप्पणी गरे ।
अहिले एमाले छाड्नेहरुले कुनै मतभेद भएर नभई पदका लागि पार्टी छाडेको ओलीले बताए ।
‘पार्टीमा हुँदा के वैचारिक मतभेद राख्न सके ? केही पनि वैचारिक मतभेद छैन, कुनै अरु विषय नीतिका विषयमा मतभेद छ ? खाली स्वार्थको लडाई, मलाई यो पुगेन, त्यो पुगेन’ उनले भने ।