भदौ २२, काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा अनुमोदन नहुने बताएका छन् । मंगलबार वाईसिएलको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले जरुरी परे फिर्ताको घोषणा हुने बताए ।
‘एमसीसी यथास्थितिमा पारित हुँदैन्, हामीले कुटनीतिक ढंगले केहि प्रश्न पठाएका छौं, जवाफ आएपछि पार्टीमा छलफल हुन्छ तर, जस्ताको तस्तै पास हुँदैन ’, प्रचण्डले भने, ‘जरुरी पर्यो भने फिर्ताको घोषणा गर्छौं ।’
उनले राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने पनि स्पष्ट पारे । प्रचण्डले एमसीसीकै कारण सत्ता गठबन्धन समस्यामा नपर्ने बताएका छन् ।
सरकारले विवादास्पद एमसीसी पारितको प्रक्रिया अगाडि बढाएको भन्दै पछिल्लाे समय जनस्तरमा आक्रोश देखिन थालेको छ । सत्ता गठबन्धनकै दलका युवा तथा विद्यार्थीहरुले एमसीसी खारेजीको माग गर्दै आन्दोलन गर्न थालेका छन् ।
मंगलबार मात्रै सत्ता बाहिरको नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।