![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/09/2020-11-27T150722Z_511221574_RC2RBK951SYH_RTRMADP_3_HEALTH-CORONAVIRUS-VACCINES-IFPMA_1606490691820_1607065206357.jpg)
सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिए।
प्रमुख दाहालले अमेरिकी कम्पनी ‘मोडेर्ना’ लाई खरिद सम्झौता गरिएको खोपको पैसा पनि पठाइसकिएको बताए। ‘हामीले खोपको पैसा पठाइसकेका छौं। अब उहाँहरूले कहिले खोप पठाउनुहुन्छ त्यो अहिले नै खुलिसकेको छैन,’ उनले भने।
सम्झौता गरेअनुसार कम्पनीले सन् २०२१ को अन्तिमसम्म वा २०२२ को पहिलो महिनासम्मा पठाउनसक्ने भनिएको छ। यद्यपि तोकिएको समयभन्दा चाँडो खोप ल्याउनलाई कम्पनीसँग निरन्तर कुराकानी भइरहेको दाहाल बताउँछन्।
१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने यो खोप ‘कोभ्याक्स’ अन्तर्गतको ‘कस्ट सेयरिङ’ मार्फत सरकारले ल्याउन लागेको हो। सोही अनुसार नेपालले विश्व बैंकसँगको सहकार्यमा खोपको पैसा पठाइएको दाहालले बताए।
साथै सोही उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप खरिद गर्न ‘फाइजर’ कम्पनीसँग पनि कुराकानी भइरहेको प्रमुख दाहालले जनाए। सरकारले सुरुमा यो १८ वर्ष मुनिका बालबालिकालाई ‘फाइजर’ को खोप दिने भनेको थियो। तर फाइजरसँग खोप खरिद गर्ने कुरा चाँडो टुंगो नलागेपछि अहिले ‘मोडेर्ना’ ल्याउने सम्झौता गरिएको हो।
विज्ञहरूले १८ वर्ष मुनिका बालबालिकालाई छिटो खोप प्रदान गर्न आवाज उठाउँदै आएका छन्। पछिल्लो समय देशभर विद्यालय खोल्ने कार्य सुरु भएको भन्दै १८ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने भएकालाई ती समूहलाई खोप प्रदान गर्न भनिएको हो भनि सेतोपाटि मा लेखिएको छ।
यसबाहेक थप खोप ल्याउने कुरामा ठोस प्रगति भएको छैन। भर्खरै मात्र चीनबाट खरिदमार्फत ल्याइएको ४४ लाख डोज भेरोसेल खोप लगाइराखिएको छ। सरकारले आगामी दसैंसम्ममा एकतिहाइ जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ।
तर सरकारले भनेजस्तै ठ्याक्कै एकतिहाइ जनसंख्यालाई खोप लगाइने देखिँदैन। किनभने अहिलेसम्म प्राप्त भएका खोपले जम्मा ९२ लाख जनालाई लगाउन पुग्ने छ। सरकारको योजना कम्तिमा एक करोड मानिसलाई खोप लगाउने भन्ने हो।
तर योबीचमा थप खोपहरू आउनसके सरकारले भने अनुसार दसैँ अगाडि एकतिहाइ जनसंख्यालाई खोप लगाउन सकिनेछ। त्यसका थप १६ लाख डोज खोप आवश्यक पर्छ।