क्वालालम्पुर- गैर आवासीय नेपाली संघ मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको साझा समस्या समाधान गर्नको लागी नेपाल सरकारको ध्यान आकर्षण गराएको छ।
एनआरएनए मलेसियाको अध्यक्ष विनोद थापाले बुधबार नेपाल सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासंग प्रत्यक्ष भेटघाट गरि मलेसियामा कार्यरत रहेका नेपाली श्रमिकको समस्या समाधान बारे ध्यानाकर्षण गराउनु भएको हो।
अध्यक्ष थापाले प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष मलेसियामा कार्यरत नेपाली श्रमिकहरु कुनै किसिमको अप्ठ्यारामा परेको खण्डमा उद्दार गरेर सुरक्षित र सहज तरिकाले राख्न सजिलो होस् र नेपाल फर्काउन पनि सजिलो होस् भन्ने हेतूले नेपाल सरकार र एनआरएनए मलेसियाको समन्वयमा मलेसियामै नेपाली श्रमिकमैत्री आफ्नै सेल्टर हाउस स्थापना गर्न अत्यन्त जरुरी रहेको बारे ध्यानाकर्षण गराउनुभएको हो।
“तत्काललाई मलेसियामा सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा संघ मलेसियालेनै गर्ने, सम्पुर्ण लागत खर्च पनि एनआरएनए मलेसियालेनै बिहोर्ने र संचालन पनि गर्ने तर, भविष्यमा संघले नसकेको खण्डमा नेपाल सरकारले आफ्नै मातहतमा लिई संचालन गर्न पाउने छलफल भएको अध्यक्ष थापाले जानकारी दिए।”
साथै पछिल्लो समयमा नेपाल सरकारले जारी गरेको अनलाइन प्रविधीबाटै पुनः श्रम स्विकृति लिन मिल्ने र शुल्क बुझाउनुपर्ने ब्यवस्था र सिस्टम अलिक जटिल रहेको पाईएकोले मलेसियामा कार्यरत नेपालीहरुलाई सहजताका लागी आगामी दिनमा मलेसिया स्थित दूतावाससंगकै समन्वय र सहकार्यमा सहज तरिकाले मलेसियामानै पुनः श्रम स्विकृति लिन मिल्ने र शुल्क बुझाउन मिल्ने ब्यवस्था मिलाईदिनुहुन समेत अध्यक्ष थापाले प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष अनुरोध गरिएको बताए।
प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.खड्काले मलेसियामा कार्यरत नेपाली श्रमिकको हितका निम्ति सेल्टर हाउस स्थापना गर्न सक्दो सघाउ पुर्याउने, साथै श्रमिकको समस्या समाधान र उद्दारका लागी सरकार सकारात्मक रहेको उनले बताए।
प्रधानमन्त्री देउवाले सरकारले चाडैंनै रिक्त रहेको श्रममन्त्रीको पदमा मन्त्री नियुक्त गर्ने, र मलेसियाका लागी नयाँ नेपाली राजदुत नियुक्ति गरेर परराष्ट्र मन्त्रालयको संयुक्त सहकार्यमा सेल्टर हाउस स्थापना गर्न आवस्यक छलफल अगाडी बढाउने प्रतिबद्धता गर्नु भएको छ। साथै समस्यामा परेका नेपाली श्रमिक उद्दारको कामकाजका लागी प्रक्रिया बढाउने र कामलाई पूरा गर्ने पुर्ण प्रतिबद्धता जाहेर गर्नुभएको छ। ” सरकारले पहल गर्छ भन्नेमा बिसस्त छु’ थापाले थपे”।
थापाका अनुसार हाल आफू नेपाल रहेको समयमा सेल्टर हाउस स्थापनाको लागी एनआरएनए केन्द्र र नेपाल सरकारको नयाँ श्रममन्त्री नियुक्त भइसके पश्चात् आफूले प्रत्यक्ष भेटघाट गरेर लिखित रुपमै पत्र बुझाई स्विकृती लिएर मात्र आफु मलेसिया फर्कने उनको लक्ष्य रहेको छ।