काठमाडौं- दुई दिनदेखि परेको अविरल बर्षाले सुदुरपश्चिम क्षेत्र नराम्रोसंग प्रभावित भएको छ । बाढीले पुल जोखिममा परेका छन् । महाकाली नदी तटीय टापुमा केहि स्थानीय फसेका छन् । सरकारले उद्धारको प्रयास गरिरहेको छ । महाकालीको टापुमा फसेकालाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको छ । मौसममा आएको खराबीले महाकालीमा अलपत्र परेकाहरूलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना उद्धारको पर्खाइमा छन् ।

उनीहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जनाएको छ । उता कैलालीको ठूलीगाडमा बसेका एक दम्पतीलाई पनि हेलिकप्टरले उद्धार गर्न सकेन । डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्–श्रीमती फसेका छन् । स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेका छन् । उता बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण अलपत्र परेका करिब ६० जना पनि उद्धारको पखाइमा छन् ।

उनीहरूको उद्धारको पहल भइरहेको प्रहरीले जनाएकाे छ । सिलगढी सहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए । उनले भने, “नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ ।” बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएकाे छ ।

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ । सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताए । उनले भने, “सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ ।” जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।

यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी परिचालन गरिएको भए पनि वर्षा नरोकिएका कारण मर्मत गर्न सकिएको छैन । डोटीको गोपघाट र दिपायलस्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको शिखर नगरपालिका–२ कालागाढका स्थानीय तेजबहादुर बोगटीले जानकारी दिए ।

सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसिद बनेका छन् । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, “जिल्लाका सबै ठाउँमा बाढी आएको छ, विशेष गरी सेती नदीमा पानीको बहाव अधिक भएकाले नदी आसपास बस्ती भएका नागरिकलाई सर्तक रहन आग्रह गरेका छौँ ।”

लगातारको बर्सातका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिएको   िजल्ला प्रशासन कार्यालयले जनाएकाे छ  । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपद् तथा नदीबाट हुने खतराबाट जोगिन चौबीसैँ घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनायाे ।

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । बर्सात सुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् । उता जिल्लाको जोरायलमा रहेको कर्नासो नदी तथा विपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाले जनाएकाे छ । बाढीका कारण अहिलेसम्म भने जिल्लामा मानवीय क्षति नभएको जनाएको छ । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए । “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भने, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।” यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ ।

महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए । उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिए । “यहाँ करिब ३०० घर प्रभावित भएका छन् ।” उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् । लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

तटीय क्षेत्रका बस्ती डुबानमा महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् ।

रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ । “रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।” भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग(भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ । मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ । महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ ।

नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ । जिल्लाको मध्य माग भएर बग्ने दोदा(मछेली) नदीको बहावसमेत उच्च भएको छ । नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ । चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ । त्यसैगरि, कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइअलर्ट’ गरिएकाे छ । ‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’ अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए । अहिले पानीको सतह १२.५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । त्यसैगरि, सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताए । विद्युत प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत नभएकै कारण पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रुपमा अवरुद्ध जानकारी दिए । डडेल्धुरामा अप्टिकल फाइबर काटिएकाले पनि थप समस्या भएको बताउँदै न्यौपानेले सेवा सञ्चालनका लागि पहल भइरहेको बताए । त्यसैगरि, लगातारको वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् । अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ । यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ ।

घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए । सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ । उद्धारमा सबै साधन स्रोतको प्रयोग गरेका छौं: मुख्यमन्त्री भट्ट सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढी पीडितको उद्धारका लागि प्रदेश सरकारले सबै साधन स्रोत उपयोग गरेको बताएका छन् । ‘टापुमा फसेकालाई उद्धार गर्न हेलिकप्टर मगाउनेदेखि स्थानीयलाई सुरक्षित स्थानमा लैजान सरकारले काम गरिरहेको छ,’ उनले भने,‘उद्धारमा सबै सुरक्षा निकाय र सबै साधान स्रोत उपयोग गरिएको छ ।’

अझै पानी परिरहेको छ, उद्धारमा समस्या थपिएको छ, तर पनि प्रदेश सरकार लागिरहेको उनले बताए । उनका अनुसार, केन्द्र सरकारका गृहमन्त्री, प्रधानमन्त्रीको सचिवायलयसंंग प्रदेश सरकारले सहयोगको अनुरोध गरेको छ । ‘हामीले पहिल्यैदेखि धनगढीमा एउटा हेलिकप्टर चाहिन्छ भनेर केन्द्र सरकारसंग माग गरेका थियौं, मुख्यमन्त्री भट्टले भने,‘अहिलेसम्म केन्द्र सरकारले हाम्रो माग सुनेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय