अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।
हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।
महासेठले म्यासाचुसेटको बोस्टन शहरबाट करिब डेढ घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नाम गरेको खुद्रा पसल सञ्चालन गर्दै आएका थिए ।
चोरीको प्रतिकार गर्न खोज्दा उनीमाथि गोली प्रहार भएको हुनसक्ने बुझिएको छ । महासेठको शव अहिले क्यापकर्डमा पोष्टमार्टमका लागि लगिएको छ । उक्त स्टोरमा पहिले पनि चोरीका प्रयासहरु हुने गरेको र त्यस्ता व्यक्तिलाई लखेट्ने गरिएको जनाइएको छ ।
लालकिशोर मधेशी एसोसिएसन इन अमेरिकाका संस्थापक सदस्य तथा न्यू इंग्ल्यान्ड च्याप्टरका पूर्व अध्यक्ष थिए । उनका पत्नी, दुई छोरा र एक छोरी छन् । पर्दाफास बाट अनलाइन बाट