क्वालालम्पुर- मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया यहीँ  जनवरी २८ तारिख र  फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्ति अनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ क्षेत्रमा ३० हजार जनालाई भर्ना गर्ने प्रक्रिया सुरु गर्न लागेको जनाएको छ। यसको लागि श्रमिक भर्ना गर्ने रोजगारदाता कम्पनीले अनलाइन मार्फत आवेदन दिनुपर्ने ब्यावस्था गरेको छ। उत्पादन, सेवा, सुरक्षा र घरेलु श्रमिकका लागि भने फेब्रुअरी १५ बाट सुरु हुनेछ ।

मलेसियाले श्रमिक ल्याउन सबै मापदण्ड तय गर्नुका साथै क्वारेन्टाइन बनाएपछि तोकिएको देशबाट श्रमिक ल्याउन अनुमति दिन थालिएको हो । अब रोजगारदाताले श्रमिक भर्ना गर्न गृह र मानव संशाधन मन्त्रालयबाट विशेष अनुमति लिन जरुरी नभएको मानव संशाधनमन्त्री शेरी एम सरभानन द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विदेशबाट श्रमिक ल्याउनका लागि केलाङ भ्यालीमा १० हजार जना अट्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

मलेसिया आउने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यताप्राप्त कोरोना खोप लगाइसकेको हुनुपर्नेछ । मलेसिया प्रस्थान हुनुभन्दा ७२ घण्टाभित्र श्रमिकले ‘आरटी–पीसीआर’ परीक्षण गरेको हुनुपर्नेछ । मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

क्वारेन्टाइनमा राखिएको दोस्रो र पाँचौ दिनमा आरटी पीसीआर गरिनेछ । कोरोनाबाट संक्रमण भएमा निजी क्वारेन्टाइन तथा न्यून जोखिम उपचार सेन्टर (पीकेआरसी)मा राखिनेछ भने गम्भीर भएमा निजी अस्पतालमा पठाइनेछ । यसको सबै खर्च रोजगारदाता,कम्पनीलेनै बेहोर्नुपर्ने हुन्छ।

नेपाली सहित विदेशी श्रमिकका लागी मलेसिया रोजगारी बिगत दुईबर्ष देखि बन्द रहेको छ। जसले गर्दा मलेसिया आउन चाहेका नेपालीहरु समेत आउन पाएका छैनन् । मलेसिया स्थित नेपाली दूतावासका अनुसार अहिले मलेसियामा करिबकरिब डेढ लाख नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय