क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट। रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा छन्।

काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन्। त्यसैले फर्कन हतारिएका थिए। तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो शुल्क तिर्न परीरहेको थियो।

३६ सय रिंगिट अर्थात् नेपाली १ लाख २३  हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी। भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा दुइ  तिहाइले बढी हो।

वैशाखयताको आठ महिनामा मात्रै उनीजस्तै करिब ७ हजार बढी  गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको तथ्यांकमा छ।

अहिले विधिसम्मत रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ। जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ५०० सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ।

अहिले तोकिएकै नियमअनुसार पनि प्रत्येक कामदारबाट ‘दलाल’ ले औसतमा पाच सय रिंगिट बढी असुलेको देखिन्छ। अर्थात् पछिल्लो चार महिनामा मात्रै नेपाली कामदारबाट नेपाली ‘दलाल’हरूले आवस्यक रकम भन्दा बढी असुलेको देखिन्छ भने एउटा नेपाली कामदारबाट एजेन्टले ५–८ सय रिंगिट कमिसन खाइरहेका छन्।’

पछिल्ला महिनामा गैरकानुनी कामदारप्रति मलेसिया सरकारले कडा नीति अख्तियार गरेयता घर फर्कनेको संख्या बढदो छ। दूतावासको आँगनमा मौलाइरहेको कामदार लुटको चर्को शृंखला ५ वर्षअघि सुरु भएको हो, जतिबेला मलेसियन सरकारले हारफासे नामक कम्पनीलाई गैरकानुनी नेपाली कामदार घर पठाउने जिम्मेवारी सुम्पिएको थियो।

गैरकानुनी कामदारको हैसियतमा रहेका नेपालीको घरफिर्तीका निम्ति सहजीकरणको जिम्मा पाएको यो कम्पनीले अवैध रूपमा ‘सेवा शुल्कबापत’ भन्दै ५ सय ५० रिंगिट अतिरिक्त शुल्क लिन थालेपछि घरफिर्ती महँगिन थालेको हो।

त्यतिमात्रै कहाँ हो र हारफासेका निम्ति कामदार पुर्‍याइदिने जिम्मा पाएका वैध र अवैध एजेन्टले त्यसमाथि थप शुल्क असुलेर कामदार ठग्दै आएका थिए। हवाई टिकटदेखि होटलमा कामदार राखेबापत र फोटोकपीदेखि फोटो खिच्ने प्रत्येक काममा दलालहरूको कमिसन शुल्क त जोडिन्छ नै।

यसरी संस्थागत ठगी र त्यसैको आडमा मौलाइरहेका दलालको चंगुलमा नेपाली कामदार परिरहेका छन्। दूतावासको मौनताकै कारण दूतावासकै आँगनमा ‘दलाल राज्य’ निर्वाध चलिरहेको छ। जसबाट भट्टजस्ता कामदार पसिना बगाएर कमाएको रकम दलाल पोस्नमा खर्च गर्न बाध्य भइरहेका छन्।

त्यसो त भट्टजस्ता अधिकांश कामदार राजधानी क्वालालम्पुर आउनुअघि नै दलालको पासोमा परिसकेका हुन्छन्। फोनमार्फत दलालसँग जोडिएका कामदार उनीहरूले भनेजति पैसा तिर्न र लुरुलुरु पछि लाग्न विवश हुन्छन्।

भाषाको समस्या, यात्रा असहजता र दूतावासप्रतिको चरम अविश्वासका कारण भट्टजस्ता कामदार दलालको चंगुलमा पर्छन्। कोतराय र जलान आम्पाङको गल्लीपिच्छे नै भेटिने नेपाली ‘दलाल’ को हात नसमाती नेपाल फर्किने सपना पनि देख्न नसक्ने परिस्थितिको उल्झनमा परेका एक पात्र थिए भट्ट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय