![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/03/malaysia1617904066.jpg)
काठमाडौं : नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाको रोजगारी खुला भएपछि वैदेशिक रोजगार क्षेत्रमा चहलपहल बढेको छ ।
कोरोना महामारीका कारण मलेसिया रोजगारी २०२० मार्चदेखि बन्द रहेको थियोे ।आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसियाबीच यसअघि भएको श्रम सम्झौता अनुकुल हुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
उक्त निर्णयपछि वैदेशिक रोजगार कार्यालयले मलेसियाबाट प्रमाणीकरण भएर आएका मागपत्रमा मंगलवारदेखि पूर्व स्वीकृति दिन शुरू गरेको छ ।
दुई वर्षदेखि बन्द रहेको मलेसियाको श्रम स्वीकृति खुलेपछि खाडीका विभिन्न मुलुकमा रोजगारीमा गएका कामदार अब मलेसिया कसरी जान सकिन्छ भनी सोधखोज गर्न थालेका छन् ।
नेपालसँग हावापानी मिल्दोजुल्दो रहेको, तलब पनि हाल न्यूनतम १२ सय रिंगिट रहेको र निकट भविष्यमा तलब बढ्नसक्ने सम्भावनाले मलेसियाको रोजगारीमा आकर्षण बढेको हो ।
मलेसियाको आकर्षणका कारण खाडी मुलुकमा रोजगारीमा जाने कामदारको पासपोर्ट पाउन छोडिएको एक व्यवसायीले मध्यान्हलाई बताए ।
काठमाडौँको चन्द्र कामना म्यानपावर प्रालिले ल्याएको डिमाण्डमा पूर्व स्वीकृति भएको सञ्चालक राजेश यादवले जानकारी दिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले मलेसियाबाट करिब चार दर्जन कम्पनीको डिमाण्ड पूर्व स्वीकृतिको प्रक्रियामा रहेको बताएको छ ।
मलेसियाबाट सुरक्षागार्ड, उत्पादन तथा प्रशोधनलगायतको क्षेत्रबाट नेपाली कामदारका लागि डिमाण्ड आउन शुरू भएको बताइएको छ । साभार : मध्यान्ह डेलि