उदयपुरः उदयपुरको बेलका नगरपालिका–३ की कविता सुनुवारको हत्या गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कवितासँगै अध्ययनरत १७ वर्षीया नाबालिका र १९ वर्षीय विनोद ढकाल रहेका छन् ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता आज बिहान कोचिङ कक्षाका लागि घरबाट हिँडेकी थिइन् ।
उनीसँगै हिडेकी साथी र साथीका काकाको छोरा विनोदले कविताको बाटोमै हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
कविता र ती साथीबीच केही समयदेखि मनमुटाव रहेको र आज बिहान विद्यालय जाने क्रममा झगडा हुँदा ती साथिले काकाका छोरा विनोदसँग मिलेर यसोदा खोलामा हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए।
विनोद उक्त विद्यालय पढ्ने विद्यार्थी नभएपनि बहिनिलाई पुर्याउन भन्दै गएका थिए । बाटोमा कविता र ती साथीबीच विवाद बढ्दै गएपछि सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको ती अधिकारीले बताए।
बिहान भैसी चराउन जानेहरुले कविता मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा प्रहरीले बरामद गरेको छ । कविताको शवलाई पोष्टमार्टमका लागि लगिएको छ ।