नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठज्यूको नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले १५ वैशाखमा मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम. सराभननज्युसँग द्विपक्षीय वैठक सम्पन्न भएको छ।

वैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भएको छ।

बैठकमा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भइ हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत (Zero Cost) सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने लगायत बिषयमा छलफल भएको छ।

नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको छ।

वैठकमा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली यूवाहरुलाई अवसर दिएकोमा धन्यवाद दिँदै यो क्षेत्रमा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी समक्ष राख्‍नु भयो।

वैठकमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाण्डौमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भयो। नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्णकुमार श्रेष्ठज्यूले आमन्त्रण गर्नुभए अनुसार मलेसियाका मानव संसाधन मन्त्रीज्यूले छिटै नै नेपाल भ्रमण गर्नुहुने भएको छ।

मन्त्री लगायत प्रतिनिधिमण्डलले मलेसिया स्थित सामाजिक सुरक्षा संस्था (SOCSO) को समेत भ्रमण गर्नु भएको थियो। भ्रमणका क्रममा माननीय मन्त्रीज्यूले आग्रह गरे बमोजिम सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृतले सन् २०२३ को जनवरीदेखि लागुहुने गरी २४ सै घण्टा प्रभावकारी हुने गरी बिमा सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि वढाउने प्रतिवद्धता गर्नुभयो।

भ्रमणकै सिसलिलामा माननीय मन्त्रीज्यूले नेपाली राजदूतावासको निरीक्षण भ्रमण समेत गर्नु भई राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिनु भएको छ। निरीक्षणको क्रममा मलेसियामा नेपाली श्रमिकहरुको स्थितिको बारेमा समेत जानकारी लिनु भएको छ। माननीय मन्त्रीज्यूले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि नेपाली श्रमिकहरुको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराउनु भयो।

मलेसियामा रहेका नेपाली नागरिकहरुलाई राजदूतावासबाट भइरहेको सेवा प्रवाहको प्रसंशा गर्दै निरन्तर सुधारको लागि निर्देशन दिनुभयो। माननीय मन्त्रीज्यूको प्रतिनिधिमण्डलले नेपाली राजदूतावासको भवन निर्माण गर्नको लागि खरिद गरिएको पुत्रजयामा रहेको जग्गाको अवलोकन समेत गर्नुभयो।

माननीय मन्त्रीज्यूको भ्रमणदलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री एकनारायण अर्याल, सहसचिव श्री राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल हुनुहुन्छ। यसैगरी द्विपक्षीय वैठकमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीस र श्रम काउन्सेलर श्री दीपक ढकालले समेत भाग लिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय