काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका छन् ।

मलेसिया भ्रमणमा रहेका मन्त्री  श्रेष्ठले आइतबार त्यहाँको होटल कन्टिनेन्टलमा नेपाली समाजका प्रतिनिधिहरूलाई सम्बोधन गर्ने क्रममा दूतावासका कर्मचारीलाई उक्त निर्देशन दिएका हुन् ।

मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहित अन्य कामदारको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका मन्त्री श्रेष्ठले महिनामा ३० दिन दैनिक १२ घण्टा खटिने सुरक्षागार्डका लागि मासिक १५ सय रिंगेट न्यून भएको बताए ।

उनले भने, ‘यसअघि प्रमाणीकरण भएर नेपाल गएको मागपत्रमा के गर्नुपर्छ काठमाडौं पुगेपछि निर्णय गर्नेछौं । तर यहाँ मलेसियामा सोमबारदेखि नै न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइमको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द नै गर्नुस् । केही भएन भने नेपालमा नै कुटो कोदालो गरौंला, अति नै ठगिनु त भएन ।’

मन्त्री श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गृहमन्त्रीसँग पनि गरेकोे  दाबी गरे ।

उनले भने, ‘न्यूनतम तलब ५४६ रिंगेट हुँदा नै सुरक्षागार्डले ओभरटाइम समेत गरेर १०÷१५ वर्ष अगाडि नै १५ सय रिंगेट तलब थापेको हो, अहिलेसम्म पनि त्यत्ति नै ।’

गृहमन्त्री जैनुदिनले नेपाली कामदार मिहेनती र इमान्दार रहेको चर्चा गर्दै गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए ।

मन्त्री श्रेष्ठले मलेसियामा नेपाली कामदारको कदर गरिनु राम्रो पक्ष भए पनि पारिश्रमिकमा ध्यान दिन आवश्यक रहेकोे बताएको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले भने, ‘१२ घण्टा ड्युटीमा खटिँदा हुने हर्टअट्याक जस्ता जोखिमलाई ध्यानमा राखेर चौबिस घण्टे बीमा सुविधाको व्यवस्था हुनुपर्ने ध्यानाकर्षण गराएको छु । मलेसियामा मृत्युु हुने नेपाली कामदारको दर उच्च छ, त्यसमा सुरक्षागार्ड सबैभन्दा धेरै देखिन्छन् ।’

मलेसियाका गृहमन्त्री जैनुदिनले नेपाली सुरक्षागार्ड शारीरिक रूपमा दुब्ला पातला भएको र व्यवसायिकरूपमा पनि कमजोरी देखाउन थालेको गुनासो मन्त्री श्रेष्ठसमक्ष गरेका छन् । मन्त्री श्रेष्ठले त्यसमा सुधार गर्नपनि उचित तलब सुविधा हुनुपर्ने ध्यानाकर्षण गराएको बताए ।

मन्त्री श्रेष्ठले छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुने बताए ।  नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ ।

मन्त्री श्रेष्ठले यसअघि यूएई भ्रमणमा जस्तै मलेसियामा बसेर कामदार ठगी गर्नेहरूलाई घिसारेरै भएपनि नेपाल ल्याएर कारबाही गर्ने भन्दै त्यस विषयमा पनि मलेसियाका गृहमन्त्रीसँग छलफल गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय