हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।
काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । सिलवालले भने– ‘पैदल फौज पनि परिचालन गरिएको छ । तर, लोकेट गर्न सकिएको छैन ।’
मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् ।
पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।
चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।