काठमाडौंः मुस्ताङमा क्षतविक्षत अवस्थामा भेटिएको तारा एयरको जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

जहाजमा चालक दलका तीन जनासहित २२ जना सवार थिए । त्यसमध्ये अहिलेसम्म दुर्घटनास्थलबाट १४ जनाको शव संकलन भएको र बाँकी ८ जनाको पनि खोजी कार्य भइरहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा  दुर्घटनाग्रस्त अवस्थामा  भेटिएको थियो ।

आज बिहान गोठाला र स्थानीयवासीको टोलीले जहाज क्षतविक्षत अवस्थामा भेटाएका थिए । उनीहरुले टाढाबाट मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाज देखिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शव संकलन र उद्धारका लागि सेना सहित , फिस्टेल र कैलाश एयरको एक–एक हेलिकप्टर परिचालन गरिएको बताए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय