‘कबड्डी–४’ हेर्न आएका दर्शकलाई हिरोइनले झापड हानेर पुलिसलाई बुझाइन्
काठमाडौं।
 देशभर चलिरहेको फिल्म ‘कबड्डी–४’ की प्रमुख हिरोइन मिरुना मगरले फिल्म हेर्न आएका एक दर्शकलाई झापड हानेर प्रहरी चौकीमा बुझाएकी छिन्। सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङलाई हिरोइन मिरुना मगरले आइतबार साँझ झापड हानेकी हुन्।

हिरोइन मिरुना मगरले दर्शक फुर्वा तामाङविरुद्ध अभद्र व्यवहार कसुर सम्बन्धी उजुरी समेत दिएकी महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। आइतबार साँझ सिभिल मलमा भएको ‘कबड्डी–४’ को शोको क्रममा मलको पाँचै तल्लाको कफीसप नजिकै दर्शक फुर्वा तामाङले आफूलाई छोएको भन्दै हिरोइन मिरुना मगरले झापड हानिन्। हिरोइन हिरोइन मिरुना मगरले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाइन्।

दर्शक फूर्वा तामाङले नियतवश नभई झुक्किए छुन पुगेको दाबी गरे। साथै उनले माफी पनि मागेका प्रत्यक्षदर्शीले बताएका छन्। दर्शक फूर्वा तामाङले माफी मागिसकेपछि हिरोइन मिरुना मगरले महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोली बोलाएर जिम्मा लगाएर पठाएकी हुन्। यस विषयमा फिल्म  ‘कबड्डी–४’ टिमले केही बताएको छैन।

‘कबड्डी ४’ फिल्म गत शुक्रबारबाट रिलिज भएको हो। शुक्रबार र शनिबार दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको बताइएको छ। फिल्मलाई देशभरका १ सय ५० हलहरूमा रिलिज गरिएको थियो।
निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका छ।

फिल्मको कथालाई निर्देशन गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियाले निर्माण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय