दलभित्रको ‘नेपोटिजम’ले जन्माएको ‘स्वतन्त्रको लहर’

काठमाडौं । गत स्थानीय तह चुनावमा भरतपुर महानगर अलग्गै हिसाबले चर्चामा रह्यो ।

सत्ता साझेदार दलभित्र तालमेलबारे चरण–चरणमा कुरा भइराखेको थियो । ७५३ पालिकामध्ये कसको भागमा कति पर्छ भन्दा पनि विशेष चासोमा थियो, भरतपुर महानगरपालिका ।

भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहपालिका पनि हो । तीनवटा संसदीय (दुईवटा संविधानसभा र एउटा प्रतिनिधिसभा)मा चुनाव जितेका प्रचण्ड काठमाडौं, रोल्पा हुँदै सिरहासमेत चहारे ।

पछिल्लोपटक चितवनबाट चुनाव लडेका प्रचण्ड अब त्यही प्रभाव विस्तार गर्ने योजनामा छन् । अघिल्लो निर्वाचनमा पुत्री रेनुलाई मेयर बनाएर आफ्नो जित सुनिश्चित बनाएका प्रचण्डले यसपटक पनि उनैलाई दोहोर्‍याउन चाहन्थे ।

तर, त्यहाँका कांग्रेस नेता–कार्यकर्ताले अन्याय महसुस गर्दै आएका छन् । चितवन, विशेषतः भरतपुरमा युद्धकालमा विस्थापित भएर आएका कांग्रेसको ठूलो पंक्तिसमेत छ । विगतमा झेलेको प्रताडनाको खाटा उप्काउनेगरी केन्द्रीय नेतृत्वले तालमेलको उर्दी र त्यसको असन्तुष्टिले छोरी हार्ने पो को कि भन्ने चिन्ता प्रचण्डलाई उम्मेदवारी निश्चित भएदेखि नजित्दासम्मै पर्‍यो ।

यो एउटा नेपाली राजनीतिको नातावाद, आफन्तवादको एउटा नमुना मात्र हो । प्रचण्डपुत्री युद्धमा प्रत्यक्ष सामेल भएकी कार्यकर्ता हुन् । उनी बाबुआमासँगै युद्धमा होमिइन् । यसको अर्थ त्यसको लाभ उनैले पाउनुपर्छ, पटकपटक पाइरहनु पर्छ भन्ने होइन । पार्टी लोकतन्त्रको एउटा परिचय, अवसरको न्यायोचित बाँडफाँड पनि हो ।

तर, प्रचण्डको छोरी हुनुको फाइदा, लाभ उनले पटकपटक उठाउँदै आएकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १ बाट चुनाव लडेकी उनी दुईपटक भरतपुर महानगरको मेयर निर्वाचित भइन् ।

यता सभामुख अग्नि सापकोटका भाइ कृष्णप्रसाद सापकोटाका कारण पनि सिन्धुपाल्चोकमा माओवादीमा ठूलै विग्रह भयो । पूर्वमेयरले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनेसम्मको परिस्थिति बन्यो ।
वर्षमान पुनः जनार्दन शर्मा पनि अवसर परिवारकै भागमा पार्ने मध्ये पर्छन् । कांग्रेसमा पनि यो रोग चर्को छ ।

शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाका कारण डँडेलधुरा कांग्रेस तहसनहसको बाटोमा छ । त्यहाँ विद्रोह गरेको कर्ण मल्ल बीपी कांग्रेस विस्तार गरिरहेका छन् । यो चुनावमा त्यहाँको कांग्रेसलाई उनले राम्रै धक्कामक्का दिए ।

तनहुँमा गोविन्दराज जोशी आफ्नो छोरा दीपकराज जिताउन कांग्रेसको मूल्यलाई पन्छाएर एमालेको झण्डामुनि आइपुगे । उता विराटनगरमा पनि मेयर बनाउन कांग्रेसलाई ‘कोइराला थर’ नै चाहियो ।
यस्ता आफन्वादको लहरोले अहिले देशव्यापी स्वतन्त्रतर्फ आकर्षण बढाएको छ । रैथाने तथा परम्परागत राजनीतिक धर्मराउन थालेको छ ।

यसको उपयुक्त उदाहरण हो, सिर्जना सिंह मेयर पदको उम्मेदवार बन्नु । परिणममा कांग्रेसले हार बेहोर्नु ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरका सिर्जना सिंहलाई उठाउने निष्कर्षमा पुग्यो । सिंहको योगदान राजनीति र कांग्रेसको आन्दोलनमा नभएको होइन । तर, उनले महाधिवेशनमा पति प्रकाशमानले देउवालाई सघाएवापत् नै टिकट पाएकी थिइन् ।

त्यसले तलका कार्यकर्ता रुष्ट हुन पुगे । खुलेर भोट माग्ने परिस्थिति बनेन । त्यसले पार्टीको आन्तरिक एकतामा दख्खल दियो । फलतः स्वतन्त्रतिर मत खस्ने परिस्थिति बन्यो ।

परम्परागत राजनीतिक शक्तिको परिवार, आफन्त मोह यतिमै विश्राम लिने अवस्थामा देखिँदैन । संघ र प्रदेशको चुनावमा उम्मेदवारी वितरणा र त्यसपछिको सत्ता, शक्ति बाँडफाँडमा पनि देखिने नै छ ।त्यसैले आसन्न निर्वाचनलाई ध्यानमा राखेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय