२९ जेठ, काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको शेयरबजार यो साता उकालो लाग्ने अनुमान लगानी कर्ताहरुले गरेका छन् । शेरबजार सुधारका समिति बन्नु र प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राखेकाले लगानी कर्ताहरुले बजार बढ्नै अपक्षा गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तयार गरिरहेको छ । लगानीकर्तालले गभर्नर भेटेर सुधारका लागि सुझाव पनि दिएका छन् । सबै क्षेत्रले घट्दो शेयरबजारप्रति चासो राखेकाले यसका नीतिमा समेत सुधार आउने अपक्षा धेरैको छ ।
निरन्तर उताव चढाव आइरहने बजारमा गत साता नेप्से १.४७ प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो । त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको थियो ।
बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित सम्बोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा रहेको छ ।
यसअघिको उच्चतम बिन्दु ३२२७ बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीले घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।
अबको तीन महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालु आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि सेयर बजारमा जेठ, असारलाई लगानीको सिजनको रुपमा लिने गरिन्थ्यो । तर, यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रुपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ ।
गत साता नेप्से घटेपनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेर १.३२ अर्ब कारोबार हुँदा सातामा साढे ६.६० अर्ब बढीको सेयर कारोबार भएको छ । नेप्से घटेपछि कुल बजार पूँजीकरण ४२ अर्ब रुपैयाँले घटेर २९ खर्ब १७ अर्बमा झरेको छ । अघिल्लो साता कुल बजार पूँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ रहेको थियो ।
गत साता नेप्सेमा ४ कम्पनीका २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पूँजीका ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पूँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर र सिवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
केहीले ट्याक्स र ब्याजको लागि पैसा जोहो गर्दा शेयरबजार घटेको दाबी गर्छन् । आर्थिक वर्ष सकिन लाग्दा ब्याज तिर्नु पर्ने र प्रणालीबाट धेरै पैसा बाहिरिने भएकाले बजार घटेको तर्क गर्छन् । निरासका लगानीकर्ताबीच केही लगानीकर्ताले भने बजार घट्दैन भन्न छाडेका भने छैनन् । पछिल्लो समय घटेको बजारलाई लिएर लगानीकर्ताहरूले राम्रै लगानी ठुबाएका छन् ।
बजार घट्नुको कारण एक मात्र छैनन् । बैंकिङ तरलतालाई समेत बजार घट्नुको मुख्य कारणको रुपमा औँल्याएका छन् । अब बजारले बिस्तारै पुरानै लय समात्ने आँकलन पनि छ । असार लागेसँगै निर्वाचनमा गएको पैसा फर्किएर आउने कारण पनि बजार बढ्ने अपेक्षा गरिएको छ ।