काठमाडौं, ५ असार- नैतिकता समाजको ऐना हो । नैतिकताकै आधारमा व्यक्तिको बारेमा समाजले धारणा बनाउने गर्दछ । अझ सामाजिक तथा राजनीतिक व्यक्तिहरुका लागि यो निकै ठूलो विषय हो । विश्वका अधिकांश मूलुकहरुमा नेतृत्वदायी भूमिकामा बसेका व्यक्तिहरुका बारेमा प्रश्न खडा भयो भने तुरुन्त पदबाट राजिनामा दिएर साधारण व्यक्तिसरह भएर बसेका उदाहरणहरु धेरै छन् । तर नेपालको राजनीतिमा यस्तो नैतिकताले खासै काम गर्दैन । राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको नैतिकतामाथि प्रश्न उठ्नु र ती प्रश्नलाई सहजै पचाउँन सक्नु नेपाली राजनीतिमा सामान्य जस्तै बनेको छ ।
राजनीतिक दलका नेताहरुलाई समाज र देशलाई नेतृत्व गर्ने खम्बाहरुका रुपमा मानिन्छ । सामान्यतया नेतृत्वमा हुनुपर्ने थुप्रै गुणहरुमध्ये नैतिकता र अनुशासन पनि महत्वपूर्ण गुण हुन् । यस आधारमा हेर्दा नेतृत्वकर्ताहरुमा कुनै किसिमको नैतिक प्रश्न नउठ्नुपर्ने र प्रश्न उठेको खण्डमा पदासिन जिम्मेवारीबाट अलग हुन सक्नु पर्ने हो । तर नेपाली राजनीतिमा नैतिक प्रश्न जति नै उठे पनि त्यसलाई सामान्य ठानेर पदमा लिप्त हुने प्रवृत्ति बढ्दै गएको छ ।
जिम्मेवार र उच्च पदस्थ व्यक्तिहरुको नैतिकतामा पटकपटक प्रश्न उठ्दा पनि त्यसलाई हलुका ढंगबाट टिप्पणी र खण्डन गर्ने प्रवृत्तिले सो पद र उचाइको गरिमामा समेत ठेस पुग्छ नै । पछिल्लो केही समययता संघीय सरकारका दुई मन्त्री र प्रदेश सरकारको एक राज्यमन्त्रीको नैतिकतामा पटकपटक प्रश्न उठेको छ । तर उनीहरुलाई त्यसको केही प्रबाहनै छैन । पटकपटक विवादमा तानिएका व्यक्तिहरुलाई सम्बन्धीत दलहरुले समेत संरक्षण गर्दा उसका गतिविधिलाई निरन्तरता दिन सहयोग गरेजस्तै देखिएको छ । छानबिन गरी दण्डित गनुपर्ने निकायबाटै उन्मुक्ति दिने प्रचलन बढेको पाइन्छ ।
अर्थमन्त्री जनार्दन शर्मा माथिको नैतिक प्रश्न ?
अर्थमन्त्री जनार्दन शर्मा विभिन्न विषयमा पटकपटक विवादमा तानिरहेका छन् । उनको नैतिकतामाथि धेरैपटक प्रश्न उठीसकेको छ । पछिल्लो समयमा अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको अन्तिम समयमा अनाधिकृत व्यक्तिहरुलाई रातारात अर्थमन्त्रालयमा बोलाएर करको दर परिवर्तन गर्न जिम्मेवारी दिएको आरोप छ । त्यस्तै बजेटमा संवेदनशील मानिने सूचना चुहाएको आरोप पनि उनमा लागेको छ । अर्थमन्त्रीको यस विषयलाई लिएर संसद र सडकमा व्यापक प्रश्न उठेको छ । तर उनी याी प्रश्नदेखि टसमस छैनन् । नैतिकताको आधारमा उनले पदबाट राजिनामा दिनुपर्ने सदनमै माग भएको थियो ।
उनले केही समयअघि अमेरिकाबाट शंकास्पद रुपमा भित्रीएको रकम फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएको भन्दै विवादमा तानिएका थिए । त्यसैबेला शर्मा गर्भनर निलम्बन प्रकरणको विवादमा फसेका थिए । उनले गत चैत्र २५ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेका थिए । उनले आफूलाई गभर्नरले असहयोग गरेको भन्दै निलम्बन गरेका थिए । यस निर्णलाई वैशाख ७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै गभर्नरको पद पुनर्बहाली गरेको थियो । सो समयमा पनि अर्तमन्त्री शर्माको नैतिताको विषयलाई लिएर निकै प्रश्न उठाइएको थियो । उनी पार्टीले फिर्ता नबोलाई वा प्रधानमन्त्रीले नहटाई अर्थमन्त्रीको कुर्सीबाट आफै हट्ने सम्भावना नै छैन ।
हल्लीदैनन् पर्यटन मन्त्री प्रेम आले
संस्कति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको नैतिकतामाथि पनि पटकपटक प्रश्न उठेको छ । मन्त्रीको पदमा रहँदै गर्दा प्रेम आलेको नैतिकता र कार्यशैलीलाई लिएर दुई पटक त ठूलै गल्तीहरु सार्वजनिक भए । भर्खरै मात्र आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्र्यवहार गरेको प्रष्ट सुनिने अडियो सार्वजनिक भएसँगै उनको नैतिकतामामाथि प्रश्न उठ्यो र उनको राजिनामाको माग भएपनि उनी हल्लीएका छैनन् ।
त्यस्तै गएको फागुन २ गते राति प्रेम आलेले एक सर्वसाधारण नागरिकलाई टेलिफोन मार्फत अश्लिल गाली गरेको अडियो भाइरल भएको थियो । त्यसबेला अछाम घर भई भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो सार्वजनिक भएपछि उनीको चौतर्फी विरोध भएपनि त्यसका बाबजुत मन्त्री आले टसमस नभइबसे । आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरिदिएको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए भने अहिलेको नेपाल एयरलाइन्स काण्डमा समेत आफुले केही नभनेको दावी गरेका छन् । उनको अडियो सबै सार्वजनीक मिडियामा आएका अवस्थामा समेत उनी राजीनामा दिने नैतिकता नै देखाउँदैनन् ।
बिमला वलीको उस्तै कथा
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई पनि आफ्नो व्यक्तिगत आचरणको कारण पटकपटक प्रश्न उठ्दै आएको छ । केही दिन समयअघि दाङकै एकराज बस्नेत र वलीको चुम्बन गरेको फोटो भाइरल भएको थियो । त्यसपछि भर्खरै मात्र एकराजको घरमा पुगेर उनकी श्रमती मीना भण्डारी बस्नेत र छोरीलाई हातपात गरिन् । जसका कारण उनी अहिले प्रहरी हिराशतमै छिन । प्रदेशको राज्यमन्त्री समेत रहेकी उनले आफ्नो नैतिकता विर्सिएर त्यस्तो गरेको भन्दै उनको नैतिकतामा प्रश्न उठाइएको छ ।
बिमला वलीको घटनाबारे जाँचबुझ गर्न बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । यस बाहेक अर्थमन्त्री माथि पटकपटक प्रश्न उठ्दा होस् या पर्यटनमन्त्री प्रेम आलेमाथि प्रश्न उठ्दा राज्यपक्षबाट छानबिन हुनुपर्ने विषयमा कुनै छानबिन हुनेगरेको छैन ।
पदीय मर्यादालाई कायम राख्न उनीहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने आवाज उठेपनि उनीहरले त्यो पदको गरिमाको ख्याल नगरि पदमा लिप्त भएको देखिन्छ । यस्तो हर्कतबाट गलत नजिरको विकास हुने भएकाले दलहरुले नै आफ्नो पार्टीले पठाएको मन्त्रीलाई फिर्ता बोलाउन पर्ने हो । तर दलहरुमा पनि यस किसिमको नैतिक चरित्र देखिदैन । स्वयम व्यक्ति त लाचार भएर कुर्चीमै टाँसिने बानीनै परिसकेकाे देखिन्छ । तेस्रो आखा अनलाइन बाट