काठमाडौँ । सेयर बजारप्रतिको कठोर सरकारी नीतिले सेयर बजार परिसूचक १९ महिनायताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९०० बिन्दुमा झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो ।
सोमबार कारोबार खुला भएदेखि घट्न थालेको नेप्से एक घण्टा अवधिमा १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटले मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।
कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस अवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ ।
एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।