काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनात्मक प्रस्ताव पेश गर्दैछन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्तावको पुरक प्रस्तावका रुपमा जारी बैठकमा पेश भएको प्रतिवेदनमाथि ४० भन्दा धेरै केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । ती सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफसहित अध्यक्षले आजको बैठकमा संगठनातमक प्रस्ताव राख्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । संगठनात्मक प्रस्ताव तयारी गर्नका लागि हिजो अध्यक्ष प्रचण्डले आफ्नै निवासमा सचिवालयका सदस्यसहित प्रदेश इन्चार्जहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा अध्यक्ष प्रचण्डले ४१ सदस्यीय स्थायी समिति र १ सय २५ सदस्यीय पोलिटव्यूरो बनाउनका लागि नामहरुमाथि चर्चा गरेका थिए । जारी बैठकको हलमा र खमल्टारमा चलेको तयारी बैठकमा समेत पदाधिकारीसमेत अहिलेनै टुंगो लगाएर जाने सुझाव आएपछि अध्यक्ष प्रचण्डले त्यसको समेत तयारी गरेका हुन् । पार्टीको बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवहरु र कोषाध्यक्षमा कसलाई अघि सार्ने भन्ने अध्यक्ष प्रचण्डले आज टुंगो लगाउने छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सर्वसम्मत जस्तै देखिएपनि पछिल्लो चरणमा कृष्णबहादुर महरादेखि मातृका यादवसम्मले दाबी गरेका छन् । त्यस्तै महासचिवमा पनि महरासँगै पम्फा भुसाल, वर्षमान पुन, हरिबोल गजुरेल, जर्नादन शर्मा देव गुरुङदेखि शक्ति बस्नेतसम्मको चर्चा छ । यीनै मध्यबाट एक हुन सक्ने संभावना छ । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था छ । तर, आकांक्षी धेरै देखिए उपाध्यक्षको संख्या बढाउने र पदाधिकारीको संख्या १८, १९ जनाको हुने गरी छलफल चले छ । महासचिवका आकाँक्षीहरुलाई अध्यक्षले उपाध्यक्षमा बढुवा गरेमा पदाधिकारीको संख्या बढ्नेछ । बैठकमा सवैले आ आफ्नो धारणा राखेको, पदाधिकारी पनि टुंगो लगाएर जाऔं भन्नेमा सवै सहमत भएको र माओवादी अध्यक्षात्मक प्रणालीको अभ्यास गरिरहेकाले पदाधिकारीबारे पनि अध्यक्षले अघि सारेको प्रस्तावलाई मानेर जाने मतदान तर्फ नलैजाने कुरामा सवै सहमत भएको नेता गिरिराजमणी पोखरेलले जानकारी दिए । अध्यक्षले ल्याएको प्र्रस्ताव मानेर जान सवै तयार भएपछि प्रचण्डले आज विहान केही नेताहरुसँग अन्तिम छलफल गरेर पदाधिकारीको टुंगो लगाउने तयारी गरेका छन् । माओवादीमा महासचिव को हुने भन्ने सवैभन्दा धेरै चर्चामा रहेको विषय हो । तर महासचिवको टुंगो कसरी लाग्छ त भन्ने समाचार दैनिकको प्रश्नमा माओवादी प्रमुख सचेतक देव गुरुङले अध्यक्षले ल्याएको प्रस्ताव मानेर जाने कुरामा सवै सहमत भएपछि उहाँले जो अघि सारेपनि समस्या नहुने बताए । अन्तरविरोधहरुको हल गर्ने अध्यक्षको आफ्नै तरिका भएको उल्लेख गर्दै ती नेताले अहिले चर्चामा रहेका नेताहरुलाई पदोन्नती गरेर महासचिवमा कम चर्चा भएका नेता आउन सक्ने तर्फ संकेत गरे । बैठकहलको अवस्था र अध्यक्षको तयारी पूरा नभएमा पदाधिकारीको विषय फेरी पछिलाई थाती राख्ने संभावना पनि रहेको उनको टिप्पणी थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT