काठमाडौं। मलेसियाको प्रसिद्ध कम्पनी विस्ट्रोन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ। सूचना प्रविधि (आइटी) क्षेत्रमा स्थापित यो बहुराष्ट्रिय कम्पनी हो ।
हाम्रो कम्पनी बहुराष्ट्रिय कम्पनी हो। यहाँ राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकलाई भेदभाव हुँदैन। मलेसियन होस्, या नेपाली सबैलाई एउटै व्यवहार हुनेछ,’ उनले भने।
कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा पनि आफ्नो कम्पनी सचेत रहेको उनले बताए।
यो कम्पनीका मलेसियासहित चीन, ताइवान, सिंगापुर, फिलिपिन्स, मेक्सिको, चेक गणतन्त्र र भारतमा विभिन्न शाखा छन्। मलेसियामा यो कम्पनीले सन् २०१९ देखि आफ्नो उत्पादन सुरु गरेको हो। कम्पनीका मलेसियामा मात्रै दुई उद्योग छन्।
सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन्। मलेसियामा श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो संसारकै ४२१ औं उत्कृष्ट कम्पनी भएको डेपुटी जनरल म्यानेजर डेभिडले दाबी गरे।
‘ग्लोवल र्याङ्कमा हाम्रो कम्पनी विश्वमै ४२१ नम्बरमा छ। गतवर्ष मात्रै २९ मिलियन डलर कम्पनीले नाफा गरेको थियो,’ उनले भने।
कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम मासिक तलब १ हजार ५ सय मलेसियन रिंगेट उपलब्ध गराउने जनाएको छ। न्यूनतम तलबका अतिरिक्त कम्पनीले कामदारहरूको अरू मूल्याङ्कनका आधारमा बोनस समेत उपलब्ध गराउनेछ
आन्तरिक मूल्याङ्कन आधारमा न्यूनतम ४० देखि १ सयसम्म बोनसको व्यवस्था गरिएको छ। यस्तै दक्षताको आधारमा पनि बोनसको व्यवस्था छ। जसमा कम्पनीले श्रमिकको सीप हेरेर १ सयदेखि ५ सयसम्म दिनेछ।
यस्तै ओभर टाइमबापत श्रमिकले कम्तीमा ७३१ र बढीमा ९७३ रिंगेटसम्म आम्दानी गर्न सक्नेछन्। खानाका लागि ५० देखि १ सयसम्म दिइने व्यवस्था छ।
काम दुई सिफ्ट चल्ने कम्पनीले जनाएको छ। यस्तै रात्रिकालीन ड्यूटी हुँदा प्रत्येक रातको ६ रिंगेट अक्तिरिक्त पाइनेछ।
डेपुटी जनरल म्यानेजर डेभिडका अनुसार यो कम्पनीमा कार्यरत श्रमिकले मासिक कम्तीमा २ हजार ४२१ र बढीमा ३ हजार २२३ सम्म कमाउन सक्नेछन्।
त्यसका अतिरिक्त वार्षिक रुपमा बोनसको पनि व्यवस्था छ। यस्तै वार्षिक तलबसहित वार्षिक विदा पनि उपलब्ध गराइने डेपुटी जनरल म्यानेजर डेभिडले जानकारी दिए।
उनले कम्पनीमा काम गरेर पैसा मात्रै कमाउने नभइ नेपाल कामदारले आफ्नो देशका लागि सिप र दक्षता पनि लिएर आउने बताए। नेपाली श्रमिक परिश्रमी र इमान्दार हुने भएकाले आफ्नो पहिलो रोजाइमा परेको उनले सुनाए।
आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित छनोटको सुरुआत गरिएको र नमूना म्यानपावर लक्ष्यसहित लागि परेको बताए। उनले आफ्नो कम्पनीमा कुनै बिचौलिया नहुने दावी गर्दै योग्य व्यक्ति शून्य लागतमा मलेसियामा जान सक्ने बताए।
अन्तर्वार्तामा छनोट भएका श्रमिक एक रुपैयाँ पनि नतिरी मलेसिया उड्न सक्ने आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलका प्रतिनिधिले जनाएका छन्। नेपालमा हुने मेडिकल, डकुमेण्ट प्रोसेसिङलगायतका सबै खर्च कम्पनीले नै बेहोरिदिने बताइएको छ।
त्यसका लागि कम्पनीले यहाँका आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनल (म्यानपावर कम्पनी) हरूसँग सम्झौता गरेको छ।
नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौं आएको हो। बुधबार र बिहीबार श्रमिक छनोटका लागि फाइनल अन्तर्वार्ता तोकिएको छ।
छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने डेपुटी जनरल म्यानेजर डेभिडले बताए।
म्यानजर डेभिडले पत्रकारसँग कुरा गर्दै कम्पनी आकर्षक भएको दावी गरे। आफ्नो कम्पनीमा श्रमिकलाई कुनैखाले भेदभाव नहुने उनको भनाइ छ।