मार्क्सवादी अध्ययनको अवयव:
कार्ल मार्क्स युवावस्था देखि नै आफ्नो सबैभन्दा प्रिय लेखक बाल्जाक माथि एउटा विस्तृत समीक्षा लेख्न चाहन्थे तर यो काम उनले कहिल्यै पुरा गर्न पाएनन्। त्यस्तै उनी उनको दर्शनको आधारभूत स्रोतका जननी आफ्ना गुरु हेगेलको बारेमा पनि एउटा आलोचनात्मक समीक्षा लेख्ने सोचमा थिए तर त्यो पनि पुरा हुनभने सकेन। उनले आफ्नो जीवनको पछिल्लो समय प्रसिद्ध कृति ‘पुँजी’को लेखन र प्रकाशनमा बिताए। तर त्यो काम पनि सम्पूर्ण रुपमा पुरा हुन नसकेको सबैलाई अवगत नै छ। उनले आफ्ना दुईवटा ठूला चाहना मध्ये न त बाल्जाक सँग सम्बन्धित कुनै कृति तयार पार्नसके न त हेगेलको दर्शनको आलोचनात्मक समीक्षा नै प्रकाशित भयो।
मार्क्स र एंगेल्सले आफ्ना अध्ययनको अपनाएको विधि एक खास किसिमको दार्शनिक आधारमा पाइन्छ। त्यो खास दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद हो। सबैभन्दा पहिला हामीले उनीहरुको अध्ययनको विधिलाई राम्रोसँग बुझ्यौं र आत्मसात गरी त्यसको प्रयोग गर्न सक्षम भयौँ भने उनीहरुले अपनाएको पद्धति र प्रस्थापनालाई पनि बुझ्न सक्छौँ र उनीहरुको निष्कर्ष जुन स्वरुपमा छ, हामीलाई त्यही स्वरुपमा ग्रहण गर्न अत्यन्तै सहज र सजिलो हुन्छ।
मार्क्स र एंगेल्सले अपनाएको विधि (द्वन्द्वात्मक भौतिकवाद)बारे मूलतः मार्क्सले क्रमबद्ध रुपमा सिलसिला मिलाएर कुनैपनि निश्चित र विशिष्ट रचनामा प्रस्तुत गरेका छैनन्।
मार्क्सले खासगरी हेगेलको दर्शनसंग सम्बन्धित केहि तर्कहरु आवश्यक परेको ठाँउमा भरपुर प्रयोग गरेका छन्। हेगलको दर्शनका उत्कृष्ट पक्षहरु मार्क्सवादी साहित्यमा जहीँ तहीँ भेटिन्छन्। तरपनि यसको क्रमबद्ध समीक्षात्मक आलोचना भने मार्क्सवादका प्रणेता मध्ये एक तथा मार्क्सका अनन्य मित्र फ्रेडरिख एंगेल्सले आफ्नो कृति ‘लुडविग फायरबाख तथा शास्त्रीय जर्मन दर्शनको अन्त्य’ मा सम्पन्न गरेका छन्।
मार्क्सवादका तीन संघट्क अङ्गमा तीनवटाकै आफ्ना-आफ्नै छुट्टाछुट्टै स्रोतहरु छन्। बिशेषतः मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवाद)को स्रोत भने शास्त्रीय जर्मन दर्शन हो। यस कृतिमा एंगेल्सले शास्त्रीय जर्मन दर्शनका पनि मुख्य दुई पात्र हेगल र फायरबाखको दर्शनलाई तत्कालीन जर्मनी र सम्पूर्ण युरोपभरिको नै आर्थिक, सामाजिक, राजनीतिक क्रान्ति र उथलपुथलसँग जोडेर समीक्षात्मक आलोचना गरेका छन्।
फ्रेडरिख एंगेल्सले आफ्नो कृति ‘लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य’मा उनीहरु(हेगल र फायरबाख)को दर्शनको विशुद्ध ब्याख्या, आलोचनात्मक खण्डन र सटिक निष्कर्षका साथसाथै मार्क्सवादका आधारभूत दर्शनिक मान्यतालाई पनि वणर्न गरेका छन्।