काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा बहुमतले विश्वासको मत पाएका छन्। आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले आफूलाई संविधानअनुसार सांसदहरुसंग विश्वासको मत मागेका थिए । संसदमा पक्ष र विपक्षमा भएको मतदानमा प्रचण्डको पक्षमा १७२ सांसदले समर्थन जनाए भने विपक्षमा ८९ सांसदले मतदान गरे ।
मतदानमा १ जना तटस्थ बसे । विश्वासको मतका लागि भएको मतदानमा जम्मा २६२ सांसद सहभागी थिए ।
प्रचण्ड पुस १० गते नेकपा एमालेसहितको सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री भएपछि पुस २६ गते विश्वासको मत लिएका थिए । तर राष्ट्रपति निर्वाचनमा एमालेसहितको गठबन्धन भत्किएर एमाले, राप्रपाले सरकार छोडेर समर्थन पनि फिर्ता लिएपछि प्रचण्डले संविधानुसार संसदमा विश्वासको मत लिनु परेको हो ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।
त्यस्तै प्रधानमन्त्रीको विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मतदान गरे ।