काठमाडौं- मन्त्रालयको नाममा सहमति भएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सत्ता साझेदार दलहरु देखिएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफल हुनेछ । मिलेसम्म आज साँझ नै मन्त्रिपरिषद् विस्तारको काम हुने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले बुधबारको बैठकमा मन्त्रालय संख्याको विषयमा प्रस्ताव राखेका थिए । जसमा दलहरु करिब सहमत छन् ।
बिहीबार बिहान बसेको सत्ता साझेदारको बैठकमा दलहरुबीच मन्त्रालयको नामको विषयमा छलफल भएको थियो । जुन छलफलपछि प्रधानमन्त्री प्रचण्ड चितवन निस्किएका छन् भने सत्ता साझेदार अन्य दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सबै मन्त्रालयको नामको विषयमा सहमत नभएपनि दलहरुका बीच मुख्य मन्त्रालयको विषयमा भने सहमति भइसकेको छ । यदि सबै दलहरु सहमति नभए केहीलाई विनाविभागीय बनाएर भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी दलहरुका बीचमा छ ।
दलहरुबीच भएको मोटामोटी सहमतिअनुसार अहिले कांग्रेसले आठ, माओवादी केन्द्रले पाँच, एकीकृत समाजवादी र जसपा दुईरदुई मन्त्रालय पाउने भन्ने छ । यसैगरी लोसपा, नागरिक उन्मुक्ति, जनमतले एकरएक मन्त्रालय पाउने भन्ने छ । आज दलहरुले पाएको संख्याका आधारमा मन्त्रीको नाम सिफारिस गर्न सक्नेछन् ।
कुन दलबाट कसको सम्भावना ?
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारी छ । बताइएअनुसार उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । कांग्रेसले अर्थ मन्त्रालयको पनि जिम्मेवारी पाउने निश्चित छ । जसमा प्रकाशशरण महतको नाम चर्चामा छ ।
यसैगरी, धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट मन्त्री हुनसक्ने बताइएको छ । कांग्रेसबाट राजेन्द्र केसी, दीपक खड्का, अजय चौरसिया, रामहरी खतिवडाले पनि मन्त्रीका लागि जोडबल लगाइरहेका छन् ।
यता, माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहने बताइएको छ ।
एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीबाट दुई जना मन्त्री बन्दैछन् । जसपाबाट अशोक राई, राजकिशोर यादव र प्रदीप यादवमध्येबाट मन्त्री चयन हुनेछन् ।