काठमाडौं । इजरायल युद्धमा फसेका एक नेपाली विद्यार्थीले आफूहरुलाई स्वदेश फर्काउने आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा पत्र लेखेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का सुरज भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत पत्र लेख्दै स्वेदश फर्किने वातावरण मिलाइदिन अपिल गरेका हुन् । आफ्ना १० जना सहपाठीको निधनले आफूहरु स्तब्ध रहेको उनले बताएका छन् ।
बंकरभित्र खाना र पानीको निकै समस्यामा रहेको पनि उनले बताएका छन् । हाल बंकरभित्र लुकिरहेको भएपनि जुनसुकै बेला बंकरभित्रै मारिन सक्ने पनि अवस्था रहेको उनले बताएका छन् ।
पत्रमा उनले लेखेका छन्, “हमलामा परियो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामी खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ ।”
“अबको हाम्रो अन्तिम आशा नै तपाईं” भन्दै उनले पत्रमा प्रधानमन्त्रीलाई देशमा फर्किएर रमाउने रहर भएको बताएका छन् । उनले पत्रका लेखेका छन्, “आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो । भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौँ ।”
यस्ताे छ भण्डारीले लेखेकाे पत्र
श्रीमान् प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थी (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्द्वकाे चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौँ । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।
आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेकाे देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्राे छाति चिरिएको छ । हामी स्तब्ध छौँ । हमलामा परियाे भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामी खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शाैचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ ।
आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो । भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौँ ।
हामी नेपालको तीन वटा विश्वविद्यालयबाट यहाँ छौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय
सगै यहाँ अन्य विद्यार्थी र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीकाे प्रत्याभूति तपाईंले अवश्य गराउनुहुनेछ, यो हाम्रो तपाईंप्रतिको विश्वास हो । यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)
– Kadesh Barnea, Israel
(नेपाली ठेगाना)
अन्नपूर्ण गाउँपालिका- २
कास्की)