घटस्थापनाको दिनदेखि नवमी अर्थात नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरि दशौँ दिनदेखि मान्यजन, आफन्तजन र ठुलावडाको हात बाट टिका र जमरा लगाई आशिर्वाद लिने तथा दिने पर्ब दशैं, हिन्दुहरुको बिशेष चाड जसलाइ हर्षोउल्लासका साथ पन्द्र दिन सम्म मनाउने गरिन्छ। दशैंलाई वडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा जस्ता नामले चिन्ने गरिन्छ ।

अन्य पर्वको तुलानामा लामो बिदा हुने चाड पनी हो दशैं । वर्ष भरि विभिन्न कारणले जहाँ रहे पनि वा गए पनि वर्षको एकपल्ट पारिवारिक तथा इष्टमित्र भेट गराइदिने , सुख दुखका बातचित अनि खुसी साटासाट गर्ने चाड पनी हो । साना बच्चा देखि सबै जनाले नया लत्ताकपडाले सजिएर घरलाई पनि रङ्ग रोगन गरि सजाउने चलन रहेको छ। घर वरिपरि बाटो मर्मत गर्ने देखि घर आँगन लिपपोत गरि गाँउघरलाई थप रमणीय बनाइने गरिन्छ । दशै शरद ऋतुमा पर्ने भएकाले झन वातावरण पनि उस्तै रमणीय देखिन्छ।

समयक्रमसँगै दशै मनाउने प्रचलन पनि फेरीदै गएको छ । आफ्नो गच्छे अनुसार मनाउनु पर्ने महान चाड दशैलाई देखासिखीपनले कतै न कतैबाट नराम्रोसंग गाँजेको छ भन्दा फरक नपर्ला, छिमेकीले जसरी दशै मनाउछन् आफुले पनि त्यसरी नै मनाउनु पर्ने बाध्यता भनौँ वा कमजोरी हाम्रो समाजमा व्याप्त छ ।

यस्तो प्रवृतिले दशै जस्तो महान चाडको मौलिकतानै हराउन थालेको त हैन भन्ने कुरा पनि बेला बेला मनमा उब्जने गर्दछ । गरिबिले विहान के खाँउ बेलुका के खाँउ हुने नेपालीहरु पनी छौ । हाम्रो समाजमा उनीहरुका घरमा न त दशैको रौनकता छ न त घर सिंगार्ने तामझाम नै ।

धनिहरुका घरमा सधैँ दशै नै दशै, राम्रो लाउन र मिठो खान उनीहरुलाई कहिले दशै कुर्नु पर्दैन तर रातदिन पसिना चुहाउने र दिनभर अरुको काम गरि साझमा हातमुख जोड्ने ती गरिब किसानहरुको झुपडिमा कसरी आउछ र खुसी ? तर पनि बर्षदिनमा एकपटक आउने दशैलाई हामीहरुले आफ्नो गच्छे, आफ्नो योग्यता र क्षमताले भ्याएसम्म जस्तो छ त्यसैमा रमाएर मनाउनु पर्छ ।

फजुल खर्च गर्न भन्दा दशैको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ तपाँइले गरेको सानो प्रयास भाविपुस्ताहरुको लागि मार्गनिर्देशन हुनेछ । तपाईहरु सबैको दशैँ खुसी र उमंगसहित हर्षोल्लासका साथ बितोस कसैको दशैँ दशा नबनोस एक दिनको मोजमस्ती र रमाइलोले गर्दा जिन्दगीभर पछुताउन नपरोस् ।झन अहिले मुलुक आर्थिक संकटमा छ । मजदुरले आफ्नो काम गरेको पैसा पाउन सकेको छैन । बजार भाउ र मूल्य वृद्धिले आकाश छोइसक्यो ।

समाजमा अरुको तुलना गरेर ॠण गरेर दशैलाई खर्चिलो र तडक भडक बनाउने चलन ब्याप्त छ । यसो गर्नाले तपाईं हामिलाई नै भोलि दिनको अफ्ट्यारो पर्ने गर्छ । अरुको देखासिखी र तडक भडक रहित रुपमा दशै मनाऔं ।

तर बर्षदिनमा एकपटक आउने दशै हो भन्दै अरुले ब्राण्डेट लुगा लगाएको देखेर आफू पनि लाउने बिदेशी ब्राण्डका रक्सी हरु खाने फजुल खर्च गर्ने हामि नेपालीको सामान्य स्वभाव नै भैसक्यो । तर यसो गर्नाले गरिब र विपन्न बर्गका मानिसलाई भने दशैले ऋणको भार बोकाउने बादलले छपक्कै छोपेको हुन्छ ।

अहिले देसमा परेको आर्थिक संकटले गरिबका लागि त चाडवाड पनि सगरमाथा भएर आएको देखिन्छ न त सजिलै पार गर्न सकिन्छ न त चुपो लागेर बस्न नै । जिउमा एकसरो लुगा र एक छाक खान मिठो खान पनि दशै कुर्नु पर्ने धेरै नेपालीहरुका लागि त त्यहि एकदिन पनि मिठो मसिनो खान र एकसरो राम्रो लगाउन नपाईने हो की भन्ने चिन्ताले पिरोलेको पाइन्छ । गरिबहरुका लागि दशै निकै ठुलो दर्द भएको छ तर न त सरकारले केहि गर्न सकेको छ न त आफैले ।

गरिबीको रेखामुनि रहेकाहरुका लागि मात्रै नभएर सामान्य व्यापारी, कर्मचारी, किसान, लगायतकाहरुलाई पनि दशै कसरी राम्ररी मनाउने भन्ने भन्दा पनि कसरी पार लगाउने भन्ने ठुलो कुरा देखिन्छ। समयमै तलव नपाउनु, व्यापार राम्रो नहुनु, बाली उत्पादन राम्रो नहुनुले गर्दा पनि सामान्य मानिस चाडपर्ब आउने वित्तिकै ठुलै संकटमा पर्ने गर्दछन ।

छिमेकीले दशै मान्न किनेको खसि भन्दा आफ्नो खसि कुनै पनि हालतमा सानो हुनुहुदैन भन्ने मानसिकता छ । यो भनेको फजुल खर्चको मानसिकता हो । खाने भनेको त परिवार संख्या हेरेर हो । तर हामीहरु यो सोचमा छैनन । धाकको मानसिकतामा छन । समाजमा मानिएका गनिएका मानिसहरु झन अगाडि देखिन्छन् यस्तो काममा । हुन् पर्ने समाजका अगुवाहरुले समाजमा आउने भित्रिने बिकृति बिसंगतिलाई रोक्नु हो ।

अझै पढेलेखेका युवाहरुले त यो समाजमा ब्याप्त रुढीबादी, अन्धविश्वास र असमानतालाइ हटाउन बिशेष भुमीका खेल्न जरुरी छ। असत्यमाथि सत्यको विजय भएको सम्झनामा मनाउदै आएको यो पर्व आम नेपालीहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ । दशैं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्तिले गर्दा उल्लास र उमंगको चाड हुन सकेको छैन । जसले गर्दा दशैं दशा भएर आउने गरेको छ ।

तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरि हाड निल्नु भन्ने उखान कसैको लागि पनि दशा नबन्ने अबस्थामा मनाउने वातावरण बन्नु पर्छ । दशै पर्बले ऐतिहासिक महत्व बोकेको छ । तेसैले हामीहरु पनि परम्परा जोगाउन चनाखो हुनु जरुरि छ ।

यस पालीको वडा दशै शुभ रहोस ।
सबैको घर आगनमा खुसी र सुखले पाइला टेकुन ।
सम्पुर्ण नेपालीजनमा वडा दशै, शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
– सुरेश तामाङ्ग ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय