नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। डेभलपमेन्ट फाइनान्स (विकास वित्त)मा कुन विकल्पमा जान सकिन्छ भनेर अध्ययन गर्ने सम्बन्धमा पहिलो हस्ताक्षर गर्दै पौडेलले पदभार ग्रहण गरेका हुन्।
सो क्रममा अर्थमन्त्री पौडेलले निराशा चिर्ने र आशा जगाउने विषयमा केन्द्रित भएर अघि बढ्ने सोच लिएको बताए। ‘निजी क्षेत्रका समस्या सुन्नेछौँ। उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिइनेछ,’ उनले भने, ‘सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन।’
सरकारले अर्थतन्त्रका सबै समस्यालाई गहिरो तरिकाले अध्ययन गर्ने र सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्ने उनको भनाइ थियो। ‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्छौँ। कतिपय अवस्थामा जुवाघर भनेर पनि टिप्पणी हुने गरेको छ । हामीले यसलाई अर्थतन्त्रको ऐनाको रूपमै बुझेका छौँ,’ अर्थमन्त्रीले भने, ‘हामी अर्थतन्त्रका सबैखाले समस्यालाई गहिरो तरिकाले अध्ययन गर्छौँ।’
सहयोग र सहजीकरणको भूमिकामा सरकार रहेको उल्लेख गर्दै पौडेलले भने, ‘समस्या सुन्ने र समाधान गर्न थालेपछि निजी क्षेत्रको आत्मविश्वास बढ्छ।’