क्वालालम्पुर- वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहदा कोरोना भाइरस , हृदयघात , सवारी दुर्घटना लगायत विभिन्न कारणबस ज्यान गुमाएका १७ जना नेपाली श्रमिकहरुको शव र अस्तु नेपाल फर्काइएको छ।
शनिबार नेपाल एयरलाइन्सको आर.ए. ४१६०५–०७३५ हवाई उडानबाट रोजगारीका लागि मलेसियामा आएर विभिन्न कारणले ज्यान गुमाएका ६ जना नेपाली श्रमिकको शव र ११ जना नेपाली श्रमिकको अस्तु गरि जम्मा १७ जना नेपाली युवा श्रमिकहरूको शव तथा अस्तु नेपाल फर्काइएको हो।
उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको गरि ६ जनाको शव फर्काइएको हो, भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरि ११ जनाको अस्तु पनि फर्काइएको हो।
नेपाल ल्याइएका अस्तुहरूमध्ये ११ जनाको कोरोना भाइरस (कोभिड-१९) का कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो। मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव नेपालका विभिन्न जिल्लाहरु क्रमशः इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरूको रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्की लगायतको जिल्लाको गरि एक/एक जना रहेको बिभागले जनाएको छ।
मलेसियामा पछिल्लो समय कोरोनाले ज्यान गुमाउने नेपालीको सङ्ख्यामा तिब्र वृद्धि भएको पाइएको छ। गत महिना अगस्टभरि एकैमहिना भित्र कोरोनाले मात्रै ९६ जनाको ज्यान गएको थियो , भने १६ जनाको अन्य विभिन्न कारणले गरि जम्मा ११२ जना नेपाली श्रमिकको ज्यान गएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ।