सुरेश यादव ,नवलपरासी/असाेज १ । संघीय राज्य प्रणालीमा प्रदेश प्रहरी कार्यालयका प्रमुखको भूमिका र दायित्व भनेको मातहतका जिल्लाहरुमा शान्ति सुव्यवस्था कायम गर्ने हो । यस्तै प्रदेश प्रहरी प्रमुखले मातहतका जिल्लामा अपराध नियन्त्रण र अवैध निकासी–पैठारी रोक्ने तथा जिल्ला प्रहरी प्रमुखहरुको भूमिकाको निष्पक्ष मूल्यांकन गर्ने हो । जिल्ला प्रहरी प्रमुखहरुको भूमिकामा कुनै सन्देह भए अनुसन्धानका लागि टोली बनाउने वा प्रहरी प्रधान कार्यालयसँगको राय–सल्लाहमा कारबाही अघि बढाउने हो ।
तर, जिल्ला प्रहरी प्रमुखहरु ‘करियर’ हेरेर तस्करी रोक्न खोज्ने तर प्रदेश प्रहरी प्रमुखले नै आफू निकट सादा पोशाकका प्रहरी खटाएर तस्कर माफियासँग साँठगाँठ गरे जिल्ला र प्रदेशको अवस्था के होला ? यतिबेला लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्द आचार्यको भूमिका तस्करी रोक्नेभन्दा तस्कर समूहसँग साँठगाँठ गरेर रकम असुल्ने रहेको प्रमाण पर्दाफासले फेला पारेको छ । केही समयअघि नवलपरासीमा भएको मोबाइल तस्करी प्रकरण र प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युुपछि डीआईजी आचार्यका गतिविधिको सूक्ष्म निगरानी गरिरहेको पर्दाफास टिमले उनले सीमा जोडिएका जिल्लामा आफ्ना पुराना विश्वासपात्रहरु मार्फत सीमावारि र पारिका तस्करसँग विभिन्न माध्यमबाट निरन्तर सम्पर्क गरिरहेको भेटिएको हो ।
यस्तै, डीआईजी आचार्यले आफू अनुकूल नरहेका जिल्ला प्रहरी प्रमुख र सीमामा खटिएका प्रहरी अधिकृतलाई कारबाहीको धम्की दिने गरेका छन् । स्रोतका अनुसार लुुम्बिनी प्रदेशका केही जिल्लाको विगतमा नेतृत्व गरेका डीआईजी आचार्यले त्यहाँको वस्तुस्थिति र पुरानो चिनजानलाई डीआईजी भएपछि ‘नवीकरण’ गरिरहेका छन् । उनले आफू नवलपरासी प्रहरी प्रमुख रहँदा विश्वास गरेका असई सन्तोष रायमाझीलाई रुपन्देहीमा राखेर तस्करीको सिण्डिकेट चलाउने पहिलो योजना बनाएका थिए । तर एसपी मनोज केसीको अडानपछि असई रायमाझी प्रदेश प्रहरी कार्यालय पुगे । यसपछि डीआईजी आचार्यले ‘रिट’ (रिजनल इन्भेस्टिगेशन टिम) गठन गरेर त्यसमा असई रायमाझी सहितलाई राखे । ‘रिट’ को नेतृत्वमा प्रहरी निरीक्षक दीपक महतलाई दिए ।
रिटको काम प्रदेश अन्तर्गत जिल्लामा भएका जघन्य र ठूला घटनामा सम्बन्धित जिल्लालाई अपराध अनुसन्धानमा सघाउनु हो । तर डीआईजी आचार्यले यही टिममा असईहरु (हालसम्म खुलेका) सन्तोष रायमाझी र निरन्जन भण्डारी, हवल्दार टेकबहादुर कुँवर तथा प्रहरी जवानहरु परमानन्द बर्मा र सुजन चौधरीलाई राखे । जसमध्ये असई रायमाझीलाई भित्रिभित्रै तस्कर समूहसँग उठौती–बपौतीको जिम्मेवारी दिइएको छ । यसरी हुन्छ उठौती–बपौती यतिबेला डीआईजी आचार्यको ध्यान लुम्बिनी प्रदेशअन्तर्गत सीमा जोडिएका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा छ । यी ६ जिल्लामध्ये नवलपरासीका एसपी मनोज यादव, दाङका सुरेश काफ्ले र बाँकेका एसपी श्यामकृष्ण अधिकारी डीआईजी आचार्य निकट छन् ।
उनीहरुले आचार्यका गतिविधिमा साथ र सहयोग दिँदै आएका छन् । बर्दियाका एसपी ईश्वर कार्की मध्यमार्गी भूमिकामा छन् । उनी डीआईजीले नै घुमुवा खटाएर उठौती–बपौती गर्न थालेपछि नागरिक समूह नै गठन गरेर ‘मेरा नाही तो किसिका नाही’ भन्ने ध्याउन्नमा छ । डीआईजी आचार्यलाई ठूलो समस्या कपिलवस्तुका एसपी दानबहादुर कार्की र रुपन्देहीका एसपी मनोज केसीले पारेका छन् । प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका यी दुवै ती जिल्लामा छन्, जहाँबाट तस्करीको मुख्य लाइन खुलाउन सकिन्छ । तर यी दुवैले प्रदेशकै घुमुवा भए पनि अनैतिक र अवैध कार्यमा संलग्न भेटिए पक्राउ गर्ने सन्देश डीआईजी आचार्यलाई पठाएका छन् ।
यसपछि भने डीआईजी आचार्यले असई सन्तोष र निरन्जनलाई घुमाउने र हवल्दार कुँवर तथा प्रहरी जवानहरु बर्मा र चौधरीलाई आलोपालो केही दिनका लागि जिल्लाका मुख्य सीमामा खटाउने गरेका छन् । यो टोली बर्दिया, कपिलवस्तु र रुपन्देहीका सीमामा खटिने गरेका छन् । केही दिनअघिसम्म कपिलवस्तुको प्रमुख सीमा कृष्णनगरमा डेरा जमाएर बसेका हवल्दार टेकबहादुर र जवान सुजन केही दिनदेखि त्यस क्षेत्र छोडेर रुपन्देहीमा छन् । अहिले असई निरन्जन त्यो क्षेत्रमा छन् ।
यो टोलीले डीआईजी आचार्यको योजनाअनुसार सीमामा प्रहरी चौकीमा खटिएका अधिकारीहरुलाई कसरी फसाउन सकिन्छ भनेर योजना बनाउने तथा मौका मिलेसम्म तस्करसँग मिलेर अवैध मालसामान ‘इन–आउट’ गराइरहेको स्रोतले जनाएको छ । उनीहरुले बर्दियाबाट केराउ तथा अन्य कच्चा पदार्थ आउट गर्ने गरिरहेका छन् । यस्तै कपिलवस्तुबाट खाद्यान्न तथा लत्ताकपडा र सुन आउट गर्ने तस्कर समूहसँग डीआईजी आचार्यसँग निकटता रहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।
रुपन्देहीका नाकाबाट सबै प्रकारका सामग्री इन र आउट गर्ने समूहसँग डीआईजी आचार्यको निकटता रहेको स्रोतको दाबी छ । ‘फसेमा प्रहरी निरीक्षक महतलाई कारबाही गर्ने,’ स्रोतले भन्यो, ‘अन्य अवस्थामा घर जानेबेला जति सकिन्छ र जसरी सकिन्छ कमाउने भन्ने हो ।’ स्रोतका अनुसार नवलपरासी मोबाइल तस्करी प्रकरणमा मुछिएका चितवनका व्यापारी अर्जुन शर्मा भनिने अर्जुन ढकाल र ईन्द्रलाल श्रेष्ठसँग डीआईजी आचार्यको साँठगाँठ रहेको छ । यही कारण उनी र एसपी यादवको मिलमतोमा प्रहरी निरीक्षक वाग्लेलाई कारबाही गरेर आफूहरु उम्किएका हुन् ।
के हो नवलपरासी मोबाइल काण्ड ?
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको एक महिनाअघि सडक दुर्घटनामा मृत्यु भयो । दुर्घटना हुनुअघि भने उनी आफूमाथिको कारबाहीको कारण तनावमा थिए । वाग्ले र प्रहरी जवान सञ्जीव धमलालाई मोबाइल तस्करी काण्डमा निलम्बन गरिएको थियो । धमलाले मोबाइल छुटाउन १३ लाख रकम लिएको आरोप लागेको थियो । तर, यस घटनामा जिल्लाका प्रहरी प्रमुख एसपी यादवदेखि प्रदेश प्रमुख डीआईजी आचार्यसम्मको नाम मुछिएको थियो ।