नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यसपालि सभापति पदमा उठ्ने तयारी गरेका छन्।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ।
सिंहले यसपालि आफू सभापति पदमा लड्ने बताइरहेका छन्।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको पनि उनले बताए।
‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?,’ आज काठमाडौंमा भएको कार्यक्रममा सिंहले भने, ‘के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनले बताए।
‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’ उनले भने।
उनले पार्टीलाई संस्थागत गर्नुपर्ने बताए। कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै उनले ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको बताए।
जनताले खोजेजस्तो नेपाली कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो।
उनले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने पनि बताए भनि सेतोपाटि मा लेखिएको छ।
‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’
आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्यो। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।