काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीका लागि सेवा गर्न आफूले अन्तिम अवसर प्राप्त गरेको बताएका छन् ।
ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा अध्यक्षमा सर्वसम्मत चयन भइसकेपछि प्रचण्डले आफ्ना लागि माओवादीका साथीहरुले अन्तिम अवसर दिएको बताए ।
अब आफू देश र जनताको हितमा क्रियाशील हुने पनि प्रचण्डले बताए । ‘नेतृत्वका रुपमा मेरा लागि यो अन्तिम अवसर हो’ प्रचण्डले भने, ‘नेपाल राष्ट्र र नेपालीका लागि केही गर्न मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती पनि हो ।’
जनयुद्ध छाडेपछि बिग्रिएको माओवादीले आठौँ महाधिवेशनमा धुलोमैलो झारेको उनको भनाई छ । ‘हामीमा केही धुलो मैलो लागेको थियो । अब हामीले आफैंमा आत्मसमीक्षा गरेर हामीलाई बदल्नुपर्छ’ प्रचण्डले भने ।
‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको पनि बताए । प्रचण्डले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।
आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे ।
उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’ तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।