![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/03/प्रकास-सपुत.jpeg)
धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार रिलिज भएको कलाकार प्रकाश सपुतको गीत पिर बारे मुख खोलेका छन् । सुदुरपश्चिम प्रदेशमा आयोजित माओवादीको राजनीतिक प्रशिक्षणमा सहभागि हुन धनगढी पुगेका प्रचण्डले गायक सपुतको गीतबारे जवाफ दिए ।
संचारकर्मीले सोधेको प्रश्नमो जवाफ दिदै प्रचण्डले त्यो गीत पुरै हेर्न नपाएपनि यस्ता गीतबाट आत्तिन नपर्ने प्रतिक्रिया दिए । ‘महिलाका हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्याचार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन ।
तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविक रूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ ‘, उनले भने । जनयुद्धलाई शान्ति र संविधानमा ल्याउन ठीक थियो कि थिएन ? भन्ने प्रचण्डको प्रश्न छ । उनले आफू खाडी मुलुक जाँदा दुस्खपू्र्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको स्मरण सुनाए ।
‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दुस्खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो कमरेड तपाईंलाई अप्ठ्यारो पर्यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौ विचलित भएका छैनौं ।’ कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।
’ प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे । उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।