विराटनगर, १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साह विजयी भएपछि उनकी श्रीमती सविना काफ्लेले भावुक सन्देश सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनले आफ्नो बालेन सबैको बालेन भएको भन्दै भावुक सन्देश पोष्ट गरेकी हुन् । सविनाले आज बिहान फेसबुकमा पोष्ट गर्दै दिनरात नभनि गरेको मेहेनत सफल भएको सो पोष्टमा उल्लेख गरेकी छिन् । बालेन पत्नी सविनाले आफूलाई अहिले अलिअलि डर पनि लागेको जनताको मायाले भने ढुक्क लागेको उल्लेख गरेकी छिन् । सविना मोरङको उर्लावारीकी चेली हुन् । हेरौँ उनको पोष्ट जस्ताको तस्तै

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !

घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई,  मलाई हार्दिक बधाई। हामी सबैलाई हार्दिक बधाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय