प्रिय पाठक ज्यूहरु- सबैभन्दा पहिला म तपाइँहरुलाइ अभिवादन गर्दछु र तपाईहरु प्रती म आदर भाव राख्दछु, यसलाइ तपाइँहरुले तोरि लेखक भनौदाले चाकरी गर्यो भनेर भन्ठान्नुस वा तपाईहरु प्रतिको स्वभाविक सम्मान भन्ठान्नुस! लेखकीय अभ्यासमा अग्रसर भैसकेपछी लेखहरु खोजमुलक हुन जरुरी छ! प्रायः लेखहरु केही इतिहास, केही घटनाक्रम, केही घटनाद्वारा आउने परिणाम, र केही सैद्धान्तिक आधारमा राजनीतिक आस्था भन्दा माठी रहेर खास विषयमा गरिने स्वतन्त्र र तटस्थ विश्लेषण नै लेखको रुपमा आउने गर्छ यद्यपि पछिल्लो समय राजनीतिमा गरिने विश्लेषण वा लेखहरु आग्रह र पुर्वाग्रहमा आधारित भएर आउने गरेको प्रती म स्वयंम पनि जिम्मेवार छु र दुखित पनि! एउटा लेखकले आफ्नो लेख मार्फत धेरै पाठकहरु जन्माउने निस्वार्थ स्वार्थ राख्दछ खास तपाइँहरुबाट मैले पालेको निस्वार्थ स्वार्थ यत्ती नै हो!

अब खास विषयमा चर्चा गरौं!

यतिखेर नेपालको राजनीतिमा तथाकथित एमसीसी पछि एसपिपी अर्थात (स्टेट पार्टनर प्रोग्राम) नामको अघोषित सैन्य गठबन्धनको एजेन्डा यतिखेरको राजनीतिक रुपमा पेचिलो विषय निम्तिएको छ! यो विषय भर्खरै एकजना अमेरिकी जर्नेल तथा इन्डोप्यासिफिक स्ट्याटिजी (IPS) एसिया प्रशान्तका प्रमुख नेपाल भ्रमणमा आएपछि विषय ले गम्भीर रुप लिरहेको स्थित छ! अझ महत्त्वपूर्ण त पछिल्लो समय राजनीतिक सिद्धान्त नै भिन्न बोकेका काङ्ग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड को सामीप्यता निकै अर्थपूर्ण छ, किनकी नेपालको इतिहासमा प्रतिगमन र रास्ट्रघातमा आफुलाइ सबैभन्दा माथी राखेका प्रधानमन्त्री देउवा सङ्गको प्रचण्ड को सामीप्यता सामान्य बिल्कुल छैन!

अमेरिकी नेशनल गार्ड र नेपाल सरकार बिच आजभन्दा लगभग ७ बर्ष अगाडि नै SPP सम्झौता भएको बारे यतिखेर राजनीतिक बृत्तका केही नेताहरु ले बोलिरहेका छन् ! यदि त्यसो हो भने यतिका बर्ष सम्म SPP सम्झौता बारे देशलाइ किन बेखबर राखियो? जनतालाइ सुइँको समेत नहुनेगरी कस्तो र कस्को अभिप्रायबाट SPP सम्झौता गरियो?

हालसालै IPS एसिया प्रमुखको नेपाल भ्रमणबाट सार्वजनिक भएको SPP यतिका बर्ष सम्म गोप्य राखिनुको अर्थ केहो?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यो SPP सम्झौता वा कार्यान्वयन तत्कालीन नेकपा अध्यक्ष केपि शर्मा ओलिको प्रधानमन्त्रीत्व सरकार ले सन २०१९ मै गरेको अभिव्यक्ति दिदै आरोप लगाउन समेत भ्याएका छन्  भने भर्खरै नेपाल सरकार ले पनि संसदबाट SPP सम्झौता होजि पनि नभेको र भोलि पनि नहुने बताइरहदा सेनाले गरेको पत्राचार सार्वजनिक भएपछि नेताहरुको अभिव्यक्ति आपसमा बाझिएको छ!

फेरि प्रश्न उब्जिन्छ, यदि प्रचण्ड ले भने जस्तै तत्कालिन नेकपाका अध्यक्ष ओलिको प्रधानमन्त्रीत्व सरकार ले SPP सम्झौता सन २०१९ मा गरेको थियो भने उक्त सरकार प्रचण्ड स्वयंम अध्यक्ष रहेको नेकपा पार्टीको थियो र उक्त सरकारमा स्वयंम नेकपा भित्रको माओवादी समुहको पनि ४०% सहभागिता थियो! यश कारण यदि सन २०१९ मै SPP सम्झौता भएको थियो भने करिब ३ बर्ष सम्म SPP सम्झौतालाई जनताबाट स्वयंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले किन लुकाए?यसरी हेर्दा प्रचण्डको चरित्र “ताल परे तिवारी नत्र गोतामे” जस्तो देखिएनर?

फेरि सेना ले लेखेको पत्रको आधार अनुसार SPP सम्झौता सन २०१५ मा भएको देखिन्छ र नेपाली काङ्ग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्व सरकारले SPP अघि बढाएको पनि देखिन्छ यद्यपि नेपाली सेनाले गरेको पत्राचारको मिति अनुसार केपि ओलि भर्खर प्रधानमन्त्री भएको देखिएको भएपनी ओलिको पहिलो कार्यकालको सरकारमा प्रचण्ड माओवादी पनि सहभागी थियो यो तथ्य हुदाहुदै प्रचण्ड यतिखेर पन्छिन खोज्नु आश्चर्यजनक र आपत्तिजनक  छ!

अझ अर्को तथ्य के छ पनि छ भने यदि SPP सम्झौता सन २०१५ मै अघि बढेको र २०१९ मा कार्यान्वयनमा गएको हो भने सन २०१५ देखि सन २०१९ सम्म दिवङ्गत सुशील कोइराला काङ्ग्रेस , पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्र र केपि शर्मा ओलि तत्कालीन नेकपा (नेकपा) बाट प्रधानमन्त्री  भएका थिए! यो तथ्य भित्र SPP सम्बन्धि अपराधीक  जिम्मेवारी प्रधानमन्त्री खाने निज पात्र वा पात्र संबंधित पार्टी ले लिनुपर्ने होइन? आज जब विषय सार्वजनिक भैसकेपछी एक ले अर्कोलाइ आरोप लगाएर तथाकथित रास्ट्रवादको नाटक पर्दर्शन गर्दैगर्दा वास्तविक मुखौटा उजागर भएको छ!

यो भन्दा अगाडि पनि MCC बारेको गोप्य पत्र लुकाएर प्रचण्ड ले पहिले नै देशलाइ छल गरेका थिए भने देउवा र ओलिले खुलेआम MCC को समर्थन गरेर घात गरिसकेका थिए ! अहिले SPP बारे प्रतिपक्षी दलको नेतालाइ एकल आरोप लगाउदै पानीमाथिको ओभानो बन्न खोजेपनी प्रचण्ड, ओलि र देउवा स्वयंम यो अपराधमा सम्मीलित भएको प्रष्ट छ! खैर मैले प्रचण्डलाई एकल दोषी करार गर्न खोजेको होइन मात्र प्रचण्ड को अभिव्यक्तिमा प्रती टिप्पणी  गरेको हुँ,

संयोग चै निकै रोचक छ, पहिले एमसीसी जसरी अकस्मात आयो  आएपछि जसरी गिजोलियो ठिक त्यसैगरी यो एसपिपी आएको छ र यो पनि एमसीसी जस्तै गिजोलिन्छ! अन्ततः प्रचण्ड ले पुनः “ब्याख्यात्मक फोटो” देखाउछन र जात्रा सकिन्छ!

किनकी राजनीतिमा नयाँ ट्रेन्डको रुपमा “ब्याख्यात्मक फोटो ” भित्रिएको छ! सम्झौता जतिसुकै रास्ट्रघाती भएपनी “ब्याख्यात्मक फोटो ” देखाएपछि रास्ट्रघात रास्ट्रवादमा रुपान्तरण हुन्छ भन्ने मनोबिज्ञान निर्माण गरिएको छ, जस्को उदाहरण अस्ति भर्खरको MCC प्रकरणमा “नो एम सि सि/रिजेक्ट एम सि सि” भनेर गर्जिएका माओवादी सहितका क्याडरहरु “ब्याख्यात्मक फोटो ” देख्नासाथ त्यो फोटो चे ग्वेभारा को तस्वीर जस्तै लागेपछि  आ-आफ्नो घर फर्किएका थिए! अचम्म के छ भने प्रचण्डको “ब्याख्यात्मक फोटो ” र रातो मछिन्द्रनाथ को भोटो प्रथा ट्याकै मिल्दोजुल्दो छ!

लिच्छवि राजा “नरेन्द्रदेव” लिच्छविकाल वरिपरि काठमाडौं उपत्यकामा लामो समयसम्म पानी नपरेपछि उपत्यका का जनता “ललित ज्यापु”को नेतृत्वमा राजा नरेन्द्रदेवकहाँ पानी समस्या बारे समाधान खोज्न पुगेपछि राजा नरेन्द्रदेव ले देशभरबाट तान्त्रिकहरु बोलाएर सम्मेलनको आयोजना गरेका थिए! सम्मेलनको सुझाव अनुसार सबै तान्त्रिक सहित त्यसबेलाका ज्यापू नेताहरु समेत समाधानको उपाय खोज्न देश दौडाहामा गए!

एक तान्त्रिक ले “कर्कोट नागराज”लाई भेटे र समस्या सनाधानको बारेमा सोधखोज गरेपछि कर्कोट नागराज ले सबै समस्याको जड “गुरु खोरखनाथ” रहेको बताए! गुरु गोरखनाथ  ले “नव नागको आसन” बनाएर बसिदिएको हुनाले काठमाडौं उपत्यकामा पानी पर्न  नसकेको र अनिकाल लागेको रहस्य खुल्यो! त्यसपछि राजा नरेन्द्रदेव सहित तान्त्रिक र ज्यापू नेताहरु गुरु गोरखनाथलाइ खोज्न थाले, भारतबाट आएका गुरु गोरखनाथ गोर्खा राज्यमा बसिरहेको पत्ता लाग्यो, काठमाडौं खाल्डोमा आएका गुरु गोरखनाथलाइ राजा नरेन्द्रदेव ले अपमान गरेपछि पश्चिम भेगको गोर्खा राज्यको एक गुफामा गएर बसेका थिए!

गोर्खा राज्यमा बसिरहेका गुरु गोरखनाथलाइ फकाउन तान्त्रिकहरुले राजालाइ सुझाव दिदैगर्दा तान्त्रिकहरु मध्य एकजना “बन्धुदत्त आचाजु” नामका तान्त्रिक ले राजालाई महत्त्वपूर्ण फरक सुझाव दिदै भने:- सरकार गुरु गोरखनाथ सामु झुकेर फकाउनु सट्टा बरु सिदै “मछिन्द्रनाथ” सामु झुकेर फकाउनु बुद्दिमानी हुन्छ किनकी मछिन्द्रनाथ निकै ज्ञानी र  शक्तिशाली भएको हुदा काठमाडौं उपत्यकामा देखिएको पानीको समस्या समाधान हुनेमा ढुक्क हुन सकिन्छ!

तान्त्रिकको उक्त सुझाव राजाले उपयुक्त ठानेपछी स्वयंम राजा, बन्धुदत्त आचाजु, ललित ज्यापू र कर्कोट नागराजा मछिन्द्रनाथलाइ भेट्न गए! राजाले मछिन्द्रनाथ सामु झुकेर सबै समस्या सुनाएपछी मछिन्द्रनाथ राजाको टोलि सङ्गै नेपाल खाल्डोमा आइपुगे!

“गुरु गोरखनाथ”का पनि गुरु “मछिन्द्रनाथ” नेपाल आएको सुइँको पाउनासाथ गुरु गोरखनाथ मछिन्द्रनाथलाइ भेट्न काठमाडौं आइपुगे! आफ्ना गुरु मछिन्द्रनाथ भेट्न जादा गुरु गोरखनाथ ले बाधेर राखेको “नव नागहरु” मुक्त भए र गुरु गोरखनाथ ले बाधेर राखेको नव नाग मुक्त भएपछि काठमाडौं उपत्यकामा बर्षा “पानी पर्न” सुरु भयो र लामो समय देखिको पानीको समस्या समाधान भएको र सहकाल लागेको किम्वदन्ती रहेको छ! उक्त किम्बदन्ती एक प्रथाको रुपमा आजपनी काठमाडौं उपत्यकामा खासगरी नेवार समुदायले मान्दै आइरहेका छन! जस्लाइ रातो मछिन्द्रनाथ जात्रा भन्ने गरिन्छ!

यसरी मछिन्द्रनाथ नेपाल आउने बित्तिकै काठमाडौं उपत्यकामा लामो समयदेखी रोकिएको पानी पर्न थालेपछि मछिन्द्रनाथलाइ काठमाडौं मै बस्नको लागि राजा, ललित ज्यापू र तान्त्रिक सहितका जनताले मछिन्द्रनाथलाइ आग्रह गरेपछि मछिन्द्रनाथको सबै सर्तहरुमा मन्जुरी गर्दै मछिन्द्रनाथलाइ काठमाडौं मै बसालिएको भन्ने किम्बदन्ती रहेको पाइन्छ!

बिचार गर्नुपर्ने कुरा चै के छ भने पानी पर्ने नपर्ने प्राकृतिक बिज्ञान हुदाहुदै गुरु गोरखनाथले नव नाग बाधेको कारण पानी पर्न रोकिएको र मछिन्द्रनाथा आउने बित्तिकै रोकिएको पानी पर्न थालेको आजको युगमा अत्यन्त पत्याउन गार्हो कथाभित्र जसरी हाम्रो समाज भ्रमित छ ठिक त्यसैगरी चीन र भारतको कारण देश पछि परेको र अमेरिका आउने बित्तिकै कायापलट हुन्छ भनेर पक्षमा देखिएका पात्रहरु: माथी उल्लेखित कथाका चारित्रीक पात्रहरु सङ्ग मिल्दोजुल्दो अवस्य छ!

अहिले नेपालमा पनि नरेन्द्रदेव राजा, तान्त्रिक, गुरु गोरखनाथ, बन्धुदत्त आचाजु र मछिन्द्रनाथ जस्ता चरित्र: कलियुगको नेपाली राजनीतिमा MCC र SPP मा ठ्याक्कै उसैगरी दोहोरिएको देख्न सकिन्छ!

अनेक तरह पश्चात् मछिन्द्रनाथद्वारा काठमाडौं उपत्यकामा पानी पर्न थालेको र त्यही कारण मछिन्द्रनाथलाइ सर्वोपरि मानेर मछिन्द्र जात्राको प्रारम्भ भएको र जात्राको अन्तिम दिन भोटो देखाएर जात्राको समापन गर्ने प्रचलन छ! अब उल्लेखित चरित्रहरु मध्य MCC/SPP चरित्रको भुमिकामा देखिएका पात्रहरु निर्क्यौल गर्ने जिम्मा म पाठकहरु मै छोड्छु!

मछिन्द्रनाथको भोटो जात्रा: 

पुरानो किम्बदन्ती अनुसार काठमाडौं उपत्यकाको “टौदह” मा एक जोडि “नाग” बस्ने गरेको र टौदह मा बस्ने नागहरुका राजा “कर्कोट नाग आफ्नो पत्नी सङ्ग लामो समयदेखी बसेको कथा छ! एकदिन कर्कोट नागराजा को पत्नीको आँखा मा समस्या आएको र नागराजा आफ्नो पत्निलाइ उपचार गराउन वैद्य खोज्दै जादा भक्तपुरमा एक जना वैद्य भेटे र नागराजा ले वैद्यलाई टौदह लगेर गए! टौदह मा वैद्य ले नागरानी को आँखा मा एक मलम लगाएपछि रानीको आँखा ठिक भएको र नागराजा र नागरानी ले खुशी हुँदै वैद्यलाई एकप्रकारको बहुतै राम्रो लुगा  “भोटो” उपहारस्वरूप प्रदान दिएको भन्ने पनि कथा छ!

त्यही “भोटो” लगाएर एकदिन वैद्य ललितपुर यत्रामा निस्कदै गर्दा बाटोमा फेला परेको “भुत” ले त्यो भोटो स्वयम वैद्य ले थाह नपाउनेगरी लग्यो! आफ्नो भोटो हराएपछी रन्थनिएको वैद्य धेरै रोए! केहिदिन पछि मछिन्द्रनाथको जात्रामा भोटो लाने भुत र वैद्य को जम्काभेट भयो त्यो भेटमा वैद्य र भुत को झगडा पनि भयो, यो देखेर राजा ले वैद्य र भुत दुइटैलाइ आफ्नो नजिक बोलाएर सोधे:- तिमी दुइटा ले किन झगडा गर्दैछौ?

वैद्य र भुत ले राजालाई बताउदै भन्छन् : सरकार यो भोटो मेरो हो! अर्थात भोटो को दाबी दुवैजनाबाट भएपछि राजाले आदेश गर्दै भन्छन: यो भोटो यहीं मछिन्द्रनाथको रथमा छोडेर जाओ जस्ले प्रमाण लिएर आउँछ यो भोटो उसैको हुन्छ!   त्यसपछि जहिल्यै आयोजना हुने मछिन्द्रनाथ जात्रामा कसैले प्रमाण ल्यायोकी भनेर मछिन्द्रनाथ रथको चारै ढोकाबाट यो “भोटो” कस्को भनेर देखाउने प्रचलन प्रारम्भ भएको मानिन्छ!

तर त्यो भोटो” लिन आजसम्म वैद्य वा भुत दुइटै आएका छैनन् ! MCC र SPP प्रकरणमा त्यो नव नाग जोडि कोहो ? वैद्य कोहो? भुत कोहो? र भोटो किन अलपत्र भयो? यस्को जिम्मा पनि पाठकहरुलाइ नै! जस्तै प्रचण्ड को “ब्याख्यात्मक फोटो”लाई न त MCC ले स्वीकार गर्यो न त अमेरिका ले नै! जसरी “भोटो” अलपत्र हुन पुग्यो त्यसैगरी “ब्याख्यात्मक फोटो ” पनि अलपत्र बनिरहेको छ!

रातो मछिन्द्रनाथको जात्राको अन्तिम दिन “भोटो” देखाउदै कहानीलाई सत्य सावित गर्दै जात्रा समापन गर्ने प्रचलन जसरी प्रारम्भ भयो ठिक त्यसैगरी नेपाली राजनीतिक जात्रामा जात्राको अन्तिम दिन “बिदेशी प्रोजेक्ट’रथ” को चारै ढोकाबाट “ब्याख्यात्मक फोटो” देखाएर अत्यन्त “रास्ट्रघात सम्झौता”हरुलाई  पनि चोख्यादै खास-खास जात्रा समापन गर्ने प्रचलन माओवादी अध्यक्ष प्रचण्ड ले प्रारम्भ गरेका छन् !

मलाइ लाग्छ मछिन्द्रनाथको भोटो र प्रचण्ड को ब्याख्यात्मक फोटो प्रथामा धेरै समानता छ!

नागरानी को आँखा मा समस्या आएजस्तै बिदेशी शक्तिहरुको  आँखा मा पनि समस्या आएपछि नेपालका राजनीतिक वैद्यहरुले परिचालित एजेन्डा घुसाएर उक्त शक्तिहरुको आँखा ठिक गरिदिदै आएका छन् र उपहारस्वरूप नेपालका राजनीतिक वैद्यहरु सधैं सत्ता र शक्तिमा बसिरहने वरदान प्राप्त गरेका छन् ! त्यसैले यो भर्खर सार्वजनिकमा आएको SPP पनि ब्याख्यात्मक फोटो देखाएर कार्यान्वयन अवस्य हुनेमा म ढुक्क छु! किनकी यो MCC मा जस्तै SPP मा पनि ठुलादलहरु र ठुला नेताहरु सम्मीलित छन् ! ढिलो चाडो कुनै न कुनै रुपबाट MCC ले जस्तै SPP ले पनि तथाकथित  राजकीय सम्मान पाउनेछ! सबैभन्दा खतरनाक र अदभूत हतियारको रुपमा राजनीतिको हिमाली भू-राजनीतिमा “ब्याख्यात्मक फोटो” प्रचलन/प्रथा भित्रिनु भनेको अत्यन्त दुर्भाग्यपूर्ण छ!

अहिले SPP मा हस्ताक्षर नगर्नुस, दुइचार दिन फेरि संसद भवन अगाडि दुई-चार हजार भेडा उतार्छु MCC मा जस्तै SPP मुर्दावाद भन्न लगाउछु विषयलाई पहिलेको जस्तै गिजोलौँ अनि मछिन्द्रनाथको भोटो देखाए जस्तै “ब्याख्यात्मक फोटो ” देखाएपछि सबै ठिक हुन्छ भन्ने खालको प्रचण्ड को चरित्र बडो धोखेबाज!

अन्तिममा एउटा प्रश्न गरेर टुङ्याउन मन लाग्यो:- गम्भीर प्रकृतिका अन्तर्राष्ट्रिय प्रोजेक्ट सम्झौताहरु किन लुकाएर राखिन्छ? यदि SPP पनि सन २०१५ वा सन २०१९ मै भएको   प्रचण्ड को भनाइलाइ सत्य मानिरहदा स्वयंम प्रचण्ड ले यस्तो गम्भीर विषय देश र जनतालाई थाह नदिनुको अर्थ अर्थ्याउने हो भने सबभन्दा अपराध त प्रचण्डबाट भएको रहेछ भन्दा के फरक पर्छर? किनकी अरु नेताहरुको कुरा छोडौं तर प्रचण्ड त्यो प्रचण्ड जनयुद्धको नायक, वर्तमान परिवर्तनको मुख्य लिडर,सर्वहाराको प्रतिनिधित्व भनेर  माओवादी बृत्तबाट मुल्यांकन गरिरहदा त्यही प्रचण्डबाट यो हदको धोका निकै षड्यन्त्रमुलक लाग्दैन तपाइँहरुलाइ? अनि मछिन्द्रनाथको भोटो जस्तै ब्याख्यात्मक फोटो देखाउदैमा सामरिक वा अन्तर्देशीय मुद्दाहरु स्वत रास्ट्रवादी हुने हुन् ?

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय