क्वालालम्पुर- वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत रहेकै अवस्थामा प्रहरीद्वारा पक्राउ परि मृत्युुदण्डको सजाय पाएका एक नेपाली श्रमिकको मलेसियाको पुनरावेदन अदालतले सो मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ।
रोजगारीका लागि मलेसिया काम गर्न आउनुभएका धनुषाको गोविन्दपुरका नेपाली श्रमिक सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको छ।
दूतावासका अनुसार मलेसियामै काम गरिरहनुभएका सुरज सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ पर्नुभएको थियो । गएको अगस्टमा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्युदण्डको सजाय तोकिएको दूतावासले जनाएको छ ।
तर अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार सन २०२२ सेप्टेम्बर ८ तारिखको दिन मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको दूतावासले जनाएको छ ।
मलेसियाको पुनरावेदन अदालतको यो फैसलापछि अब जेल सजाय भोगिरहेका नेपाली श्रमिक सुरज देव साह बाँकी सजायको अवधी सकिएपछि सकुशल नेपाल फर्कन सक्ने दूतावासले जनाएको छ ।
-दुताबासको बिज्ञप्ती हेर्नुहोस