काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको प्रशंसा गरेका छन् ।
८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने नेपाल सरकारका मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयको थापाले प्रशंसा गरेका हुन् ।
उनले निर्णय गर्ने क्रममा भएका त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयनपूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त हुने बताए ।
‘नागरिकको सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रमज्यूको कुरा सकारात्मक छ । निर्णय गर्ने क्रममा भएका यस्ता त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयनपूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त कदम हो ।’ थापाले फेसबुकमा लेखेका छन् ।
अब सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो ।
छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हक सम्बन्धि प्रचलित कानुनको प्रतिकूल हुन नहुने र वास्तविक सूचना प्रवाहित गर्दा राजनीतिक प्रणाली र लोकतन्त्र बलियो हुनेमा सरोकार पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् ।