काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच रहेको बताएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालयमातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ’ उनले भने, ‘यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’
सिंहदरबारबाटै काम गर्नुको विशेष अर्थ रहने भन्दै प्रचण्डले प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्दा राज्यका सबै अंगहरूको एकीकृत परिचालन हुन सक्ने बताए । कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले ‘निर्णय प्रक्रियालाई सरल बनाउन र छिटो छरितो कार्यसम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।