काठमाडौँ –  नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको छ भने जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साझेदार दलमा आन्तरिक गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको र सोमबारसम्म नतिजा निस्कने बताए ।

प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गरेको सचिव पौडेलको भनाइ छ । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।

सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना प्रबल जस्तै रहेको छ।  माओवादीले गृह मन्त्रालय पाउने अवस्था देखिएको र उनले भौतिक छाडेर गृह मन्त्रालय पाउन सक्ने देखिएको हो ।

त्यसलाई बल पुग्नेगरी श्रेष्ठले आइतबार पत्रकार सम्मेलन राखेका छन् । १२ बजे मन्त्रालयमा राखिएको पत्रकार सम्मेलनमा मन्त्रालयबाट भएका काम कारबाहीबारे ब्रिफिङ हुने प्रेस संयोजक कमल गिरीको भनाइ छ ।

नेताहरुका अनुसार मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सकारात्मक माहोल बनेको छ । यस्तो अवस्थामा माओवादीले भौतिक मन्त्रालय पाउने सम्भावना कम छ । सोही कारण श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना धेरै रहेको बताइएको छ ।

उसो त सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीले समेत आफ्नो मन्त्रालय फेरिदिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । आफूलाई अन्य मन्त्रालय दिएमा थप नतिजा निकाल्न सक्ने मोदीको भनाइ रहँदै आएको छ ।  हाल माओवादीबाट श्रेष्ठ र मोदीसहित सञ्चारमन्त्रीमा रेखा शर्मा, पर्यटनमा सुदन किराती र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली रहेका छन् ।

यस्तै जनमतबाट अब्दुल खान मन्त्री रहेका छन् । बाँकी मन्त्रालय भने हाल प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् । सबै विषयमा आइतबार दलहरु बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ । मन्त्रिपरिषद्को कामलाई टुंगो लगाएर सरकारलाई गति दिने प्रचण्डको योजना छ ।

पुस १० मा एमालेको मुख्य साथमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति निर्वाचनमा कांग्रेससँग नजिकिएपछि नयाँ गठबन्धन बनेको थियो । नयाँ गठबन्धन बन्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिँदा प्रचण्डले चैत ६ मा विश्वासको मत लिएका हुन् । कांग्रेससहितका १० दलको समर्थनमा प्रचण्डले विश्वासको मत जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय